पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

NEWS DESK
२०८३ कार्तिक ५, बुधबार १०:१५ बजे

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने हुनुभएको छ। मुलुकमा हालै भएका प्राकृतिक विपत्ति, जनधनको क्षति र असहज परिस्थितिलाई मध्यनजर गर्दै उहाँले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गर्नुभएको हो।

पूर्वराजाको संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार यस वर्ष सर्वसाधारण, समर्थक तथा शुभेच्छुकलाई टीका लगाइदिने औपचारिक कार्यक्रम राखिएको छैन।

गत भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा हिमपहिरोका कारण आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाले देशका विभिन्न भागमा ठूलो क्षति पुर्‍याएको घटनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपत्तिका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको ज्यान गएको र ठूलो जनधनको अपूरणीय क्षति भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिएको छ।”

विगतका वर्षहरूमा पूर्वराजा शाहले विजयादशमीका दिन सर्वसाधारण, समर्थक तथा शुभेच्छुकलाई टीका र जमरा लगाइदिँदै आउनुभएको थियो। तर, यस वर्ष प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र मुलुकको असहज अवस्थालाई ध्यानमा राख्दै उक्त कार्यक्रम स्थगित गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्