औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषध बरामद, सञ्चालिका पक्राउ

NEWS DESK
२०८३ कार्तिक ८, शनिबार ०८:१२ बजे

कास्की, ७ कात्तिक। पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागुऔषधको कारोबार भइरहेको पाइएको छ। पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि प्रहरीले पसल सञ्चालिकालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पसल सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई लागुऔषधका चक्कीसहित पक्राउ गरिएको हो। बुधबार लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उक्त औषधि पसलमा जाँच गरेको थियो।

जाँचका क्रममा ढुङ्गानाको साथबाट चार प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बरामद लागुऔषधमा कोडिप–पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की रहेका छन्।

प्रहरी नायब उपरीक्षक पासवानले लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारिएको र सो क्रममा ठूलो परिमाणमा लागुऔषध फेला परेको बताउनुभयो।

औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद हुनुले औषधिको बिक्री, वितरण तथा प्रयोगको नियमन र अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी ढुङ्गानामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाट लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो। प्रहरीले त्यस्ता घटनामा संलग्न रहेको आरोपमा औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्