हेटौँडा, ७ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा फेला परेका छन्।
स्थानीय ४५ वर्षीय शंकर कार्की शुक्रबार आफ्नै घरको दोस्रो तलामा मृत अवस्थामा फेला परेका हुन्। उनकी ४० वर्षीया श्रीमती चरिमाया कार्की भने घरको भान्साकोठामा घाइते अवस्थामा भेटिएकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घटनाका बेला घरमा श्रीमान्–श्रीमती मात्र रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
चरिमायाको फोन नउठेपछि रामेछापमा रहेका माइती पक्षले हेटौँडा–९, लामसुरेमा बस्ने शंकरकी दिदी भवानी महतलाई खबर गरेका थिए। त्यसपछि भाइको घर पुगेकी महतले घरको ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटेपछि स्थानीयलाई जानकारी गराएकी थिइन्।
स्थानीयबाट सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट हरियालीबाट प्रहरी सहायक निरीक्षक जादोलालप्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय तथा शंकरका दिदी–भिनाजुको रोहवरमा ढोका फोडेर घरभित्र प्रवेश गर्दा शंकर फलामको डन्डीमा सलको पासो लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै, भान्साकोठामा घाइते अवस्थामा भेटिएकी चरिमायाको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ। भान्साकोठाको ढोका बाहिरबाट चुकुल लगाइएको अवस्थामा भेटिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
घाइते चरिमायालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा रगत लागेको अवस्थामा ढुङ्गाको लोहोरो र इँटासमेत फेला परेका छन्। ती सामग्री घटनासँग सम्बन्धित छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले समेत घटनास्थल र अस्पतालसँग सम्बन्धित विवरणका आधारमा अनुसन्धान अघि बढाएको सूचना अधिकारी काफ्लेले जानकारी दिए।
घटना कसरी र किन भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


तपाईको प्रतिक्रिया !