रक्सौल । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। पूर्वी चम्पारणका प्रहरी अधीक्षक स्वर्ण प्रभातले सीमावर्ती क्षेत्रको निरीक्षण गर्दै सुरक्षा निगरानी प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
भारतीय सञ्चारमाध्यम भ्वाइस अफ रक्सौलका अनुसार प्रहरी अधीक्षक प्रभातले बिहीबार साँझ लाला छपरा–मटियरवा सीमा क्षेत्रको आकस्मिक निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सीमामा खटिएका सशस्त्र सीमा बल (एसएसबी) तथा प्रहरी अधिकारीसँग भेट गरी सुरक्षा अवस्था र गतिविधिबारे जानकारी लिएका थिए।
सीमा क्षेत्रको निरीक्षण गर्नुअघि उनले छौडादानो प्रहरी थानाको अनुगमन गरेका थिए। त्यसपछि रक्सौलका प्रहरी उपरीक्षक (एसडीपीओ) मनीष आनन्दसँगै सीमावर्ती क्षेत्रमा पुगेका उनले बेलदरवा एसएसबी क्याम्पका अधिकारी र आदापुर प्रहरी थानाका प्रमुखसँग सीमा सुरक्षाका विषयमा छलफल गरेका थिए।
निरीक्षणका क्रममा प्रहरी अधीक्षक प्रभातले भारतीय तथा नेपाली क्षेत्रका स्थानीय बासिन्दासँग संवाद गर्दै उनीहरूका समस्या र दैनिक जीवनबारे जानकारी लिएका थिए। उनले आपत्कालीन अवस्थामा प्रहरी सहायता लिन डायल ११२ मा सम्पर्क गर्न आग्रह गर्दै प्रहरी र नागरिकबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए।
सीमावर्ती क्षेत्रबाट फर्कने क्रममा प्रभातले रक्सौल प्रहरी थानाको समेत निरीक्षण गरेका थिए। उनले अपराध नियन्त्रण, सुरक्षा सतर्कता तथा प्रहरी मेसको सरसफाइ र खानाको गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए।
दीपावली र छठ पर्वका बेला सीमावर्ती क्षेत्रमा मानिसको आवतजावत बढ्ने भएकाले सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने उद्देश्यले निरीक्षण गरिएको जनाइएको छ। साथै, सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न भारतीय प्रहरी र एसएसबीबीच समन्वय थप सुदृढ बनाउने विषयमा पनि जोड दिइएको छ।


तपाईको प्रतिक्रिया !