विधिसम्मत प्रक्रियाबाट मात्रै टिकट वितरण हुन्छ : रास्वपा पर्सा सभापति पन्त

NEWS DESK
२०८३ कार्तिक ९, आईतवार ०८:०७ बजे

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विधिसम्मत प्रक्रियाबाट मात्रै उम्मेदवारलाई टिकट वितरण गर्ने बताएका छन्।

शुक्रबार राति वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेटमा आयोजित बडादशैंको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रममा सम्बोधन गर्दै सभापति पन्तले विधिभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पारे। उनले पार्टीको निर्धारित प्रक्रियामा विश्वास राख्न र योग्य उम्मेदवारले विचलित हुनुपर्ने अवस्था नआउने भन्दै नेता तथा कार्यकर्तालाई आश्वस्त पारे।

पार्टीको ‘हामी आउँदैछौं’ कार्यक्रमको प्रसङ्ग उल्लेख गर्दै पन्तले आगामी निर्वाचनका लागि रास्वपाले उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारेको बताए। उक्त प्रक्रियाअन्तर्गत प्रशिक्षित, परीक्षित र योग्य व्यक्तिले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउने उनको भनाइ थियो।

“कोही जिल्ला सभापतिको नजिक भएकै भरमा, प्रदेश सभापतिको नजिक भएकै आधारमा वा कुनै माननीयको नातेदार भएकै कारणले मात्र कसैले टिकट पाउँदैन। योग्य व्यक्तिले विचलित हुनुपर्ने अवस्था आउँदैन,” पन्तले भने।

जिल्ला संगठन विभाग प्रमुख कृष्ण पासवानले सहजीकरण गरेको कार्यक्रममा सभापति पन्तले उपस्थित मान्यजनबाट टीका ग्रहण गर्नुका साथै सहभागीहरूलाई टीका लगाएर बडादशैंको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा तुलसा पौडेल, सुदिश प्रजापति, परवेज अख्तरलगायत क्षेत्रीय, पालिका तथा वडा तहका सभापतिहरू र पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्