काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैँ आज (आइतबार) कोजाग्रत पूर्णिमा मनाइएसँगै औपचारिक रूपमा समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना र रातभर जाग्राम बसेर यस वर्षको दुर्गा पक्षलाई बिदा गरिँदैछ।
आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाबाट सुरु भएको १५ दिन लामो बडादशैँ पर्व कोजाग्रत पूर्णिमासँगै समाप्त हुने धार्मिक परम्परा छ। यस दिन साँझ महालक्ष्मीको भक्तिपूर्वक पूजा गरी रातभर जाग्राम बस्ने चलन रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने सम्पूर्ण बलिपूर्तिको कार्य पनि आजै सम्पन्न हुन्छ। अखिल बलिपूर्ति सकिएसँगै विजयादशमीदेखि मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद लिने–दिने क्रमसमेत समाप्त हुन्छ। दसैँभरि पूजा–आराधना गरिएको जमरा नदी, तलाउ, पोखरी वा पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आश्विन शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा गरी जाग्राम बस्ने भक्तजनको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मीले प्रवेश गरेर धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। ‘को जाग्रति’ अर्थात् ‘को जागेको छ?’ भन्ने प्रश्नबाट ‘कोजाग्रत’ शब्द बनेको मान्यता रहेको छ।
माता दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको पूजा–आराधना गरेर यस दिन दुर्गा पक्षको समापन गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म रहने धार्मिक मान्यता छ।
कार्तिक कृष्ण औँसीमा मनाइने लक्ष्मीपूजाभन्दा १५ दिनअघि नै महालक्ष्मीको विशेष आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको छुट्टै धार्मिक महत्त्व रहेको छ। यस पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। धर्मशास्त्रअनुसार यस दिन राति जुवा खेल्ने तथा महालक्ष्मीका साथै ऐरावत हात्तीमा सवार देवराज इन्द्रको पूजा–आराधना गर्ने विधानसमेत रहेको छ।
दुर्गा पक्षको समापनसँगै कात्तिक स्नान र तुलसीको विशेष पूजा–आराधना गर्ने धार्मिक विधि आगामी कात्तिक ९ गते सोमबारदेखि सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। सोही दिन साँझदेखि घरघरमा लिङ्गो गाडेर ‘आकाशदीपदान’ गर्ने परम्परासमेत सुरु हुनेछ।


तपाईको प्रतिक्रिया !