सर्लाही । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र ईभी गाडी एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।
शनिबार भएको दुर्घटनामा सर्लाहीबाट पूर्व बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किएका हुन्। दुर्घटनामा ईभी गाडीमा सवार सबै १२ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा बाराको महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी र वडा नम्बर ९ का ४८ वर्षीय राजेन्द्र राम रहेका छन्। त्यस्तै, सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम र ४७ वर्षीय रुदल राम तथा वडा नम्बर ७ का ६३ वर्षीय हरिहर राम घाइते भएका छन्।
यसैगरी, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम र ३७ वर्षीय उमेश राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देश राम तथा सिम्रौनगढ नगरपालिका–४ का ४० वर्षीय नवलकिशोर राम घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि कलैयास्थित एलएस न्युरो अस्पताल पठाइएको छ।
अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए।


तपाईको प्रतिक्रिया !