काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका अवसरमा अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले अनलाइन ठगीबाट बच्न मोबाइलमा प्राप्त हुने ओटीपी, बैंक खाताको पासवर्ड तथा डिजिटल वालेटको पिन कसैलाई पनि नदिन आग्रह गरेको हो ।
चाडपर्वका बेला ‘दशैँ धमाका’, ‘तिहार–छठ बम्पर उपहार’ वा आकर्षक उपहार जितेको भन्दै सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्ने भएकाले सचेत रहन इकाइले सुझाव दिएको छ ।
त्यस्तै, सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर अग्रिम भुक्तानी माग्ने तथा रकम लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने जस्ता ठगीबाट पनि सावधान रहन भनिएको छ ।
निःशुल्क मोबाइल रिचार्ज, चिट्ठा परेको वा उपहार जितेको दाबी गर्ने शङ्कास्पद लिंक नखोल्न तथा त्यस्ता लिंकमार्फत व्यक्तिगत र बैंकिङ विवरण उपलब्ध नगराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।
अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट मात्र प्रयोग गर्न, सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न तथा डिजिटल भुक्तानी गर्नुअघि वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्न पनि इकाइले सुझाव दिएको छ ।
चाडपर्वका बेला आकर्षक अफर र उपहारको प्रलोभनमा परी ठगीमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै डिजिटल कारोबार गर्दा विशेष सावधानी अपनाउन राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।


तपाईको प्रतिक्रिया !