छठ पर्वअघि सिर्सिया नदी प्रदूषण नगर्न उद्योगलाई प्रशासनको चेतावनी

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १८:२९ बजे

बारा, १२ कात्तिक । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सिर्सिया नदीमा प्रदूषण नियन्त्रण गर्न उद्योग तथा औद्योगिक प्रतिष्ठानलाई आग्रह गरेको छ। प्रशासनले नदीमा फोहोरमैला तथा विषाक्त रसायन विसर्जन नगर्न सार्वजनिक सूचना जारी गरेको हो।

जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १, २, ३, ५, ७, ८, ९, १०, २३ र २४ को दक्षिणी क्षेत्रबाट बग्ने सिर्सिया नदीमा छठ पर्वका अवसरमा घाट निर्माण गरी स्नान तथा पूजापाठ गर्ने परम्परा छ। यस नदीमा श्रद्धालु भक्तजनले धार्मिक आस्थाका साथ छठ पूजा गर्ने भएकाले यसको स्वच्छता कायम राख्नु सबैको साझा दायित्व रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी आसपास सञ्चालनमा रहेका उद्योग तथा औद्योगिक प्रतिष्ठानलाई उद्योगबाट निस्कने प्रदूषणजन्य फोहोरमैला, ढल तथा विषाक्त रसायन नदीमा मिसाउन नदिन आग्रह गरेको छ। साथै नदी आसपास सरसफाइ कायम राख्न, फोहोरमैला तथा ढलको उचित व्यवस्थापन गर्न र प्रदूषण नियन्त्रणसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा निर्देशनविपरीत नदी प्रदूषण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

छठ पर्वका बेला नदीमा स्नान, सूर्य उपासना तथा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लाग्ने भएकाले सिर्सिया नदीको स्वच्छता र धार्मिक महत्त्वलाई ध्यानमा राखी प्रदूषण नियन्त्रणमा सहयोग गर्न प्रशासनले उद्योगी, स्थानीयवासी तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्