पोखरियामा घुमुवा प्रहरीमार्फत असुली र तस्करीको संरक्षण, विषादीयुक्त माछासहित हुण्डी कारोबारमा पनि संलग्नता



वीरगंज, २८ असार। पर्साको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक स्वरुप शर्माले सूचना संकलनको नाममा प्रहरी जवान रामाकान्त पास्वानलाई घुमुवा खटाई असुली र तस्करी संरक्षणको धन्दा चलाइरहेको समाचार स्रोतले दाबी गरेका छन्।

वर्षौंदेखि पोखरियामै कार्यरत घुमुवा पास्वानले सीमावर्ती नाका नाका घुम्दै तस्करीको ‘लाइन सेटिङ’ गर्ने, सेटिङ अनुसार असुली संकलन गर्ने, र तस्करीका सामानहरूलाई सुरक्षासहित गन्तव्यसम्म पुर्‍याउने स्कर्टिङ समेत गर्ने कार्यमा संलग्न रहेको खुलासा भएको छ।

सूचना संकलन’को आवरणमा असुली अभियान
पासवानको नाम ड्युटी लिस्टमा सूचना संकलनमा राखिए पनि व्यवहारमा उनी असुलीको काममा खटिएको स्रोतको दाबी छ। तस्करहरूको घर–घरमै गएर असुली गर्ने, आर्थिक लेनदेन गरेर तस्करी सहज गराउने कार्य उनीमार्फत भइरहेको बताइएको छ।

उजुरी र मुद्दा शाखामा पनि लेनदेनको खेल
प्रहरी निरीक्षक शर्माले उजुरी शाखा र मुद्दा शाखामा समेत ‘टेन्डर प्रणाली’जस्तै व्यवहार गर्दै सबैभन्दा बढी रकम दिने कर्मचारीलाई जिम्मेवारी दिने गरेको आरोप पनि लागेको छ।
मुद्दा छिटो बुझाइदिने, मिसिल कमजोर बनाइदिने र उजुरीमा मिलापत्र गराइदिने नाममा समेत ठूला रकम असुलिने गरिएको समाचार स्रोतको भनाइ छ।

सीमावर्ती नाकामा तस्करीको भुइँचालो
पोखरिया क्षेत्रका अमरपट्टी, तिलावेबर्वा, प्रसौनीभाठा, धोरे, सबैठवा, टिहुकी र आसवारीजस्ता सिमावर्ती नाकाबाट भारतबाट नेपाल र नेपालबाट भारततर्फ दोहोरो तस्करी व्यापक रूपमा भइरहेको छ।

भारतबाट बच्चा पिउने दूध, काजु, किसमिस,चकलेट, किराना सामान, चिनी, सुर्तीजन्य सामग्री, रजनीगन्धा, राजनिवास, हार्डवेयर, कस्मेटिक सामग्री, धान, गहुँ, सख्खर, भारतीय औषधि, जुत्ता–चप्पल, कपडा, खसी–बाख्रा, राँगा–भैंसी, ब्रोइलर कुखुरा र कुखुराका चल्ला नेपाल भित्रिने गरेको छ।

त्यसैगरी, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकाले कोक, फ्यान्टा, स्प्राइट, मैङ्गो जुसजस्ता पेय पदार्थहरू पनि तस्करीमार्फत नेपाल भित्रिरहेका छन्।

नेपालबाट भारततर्फ पपकर्न बनाउने मकै, चिनियाँ लाइटर, १० फिटे मापन टेप (इञ्ची टेप), चिनियाँ सामान, चुरोट, युनीलीभर कम्पनीका सम्पूर्ण सामग्री, फेयर एण्ड लभली, फेयर एण्ड लभलीको पाउच, प्रोस्टाइल तेल, क्लोजअप पेस्ट, नेपालमा उत्पादित विभिन्न प्रकारका परफ्युम, सेन्ट र क्रिम, भारतमा प्रतिबन्धित मदिरा (रक्सी) तथा प्लास्टिकजन्य सामग्रीलगायतका सामान तस्करी गरिने स्रोतको भनाइ छ।

विषादीयुक्त माछा नेपाल भित्रियो, स्वास्थ्य संकटको खतरा
भारतको आन्ध्र प्रदेशबाट विषादी प्रयोग गरिएका मरेका माछा पोखरिया नाकाबाट नेपाल भित्रिरहेको र त्यसमा प्रहरी निरीक्षक शर्मा र जवान पास्वानको मिलेमतो रहेको खुलासा भएको छ।

तस्करहरूले रसायन प्रयोग गरी मरेका माछालाई ताजा देखिने बनाएर वीरगंज हुँदै देशभर पठाइरहेका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता माछा उपभोग गर्दा फुड प्वाइजनिङ, लिभर ड्यामेज, पाचन समस्या र क्यान्सरसम्मको जोखिम हुन्छ।

पर्सा क्वारेन्टाइन कार्यालयले परीक्षण नगरी माछा छाड्दा सर्वसाधारणमा आक्रोश छाएको छ। यस्तो आयातले नेपाली माछा व्यवसायीहरू पनि संकटमा परेका छन्।

हुण्डी कारोबार पनि बढ्दो
तस्करीसँगै पोखरिया क्षेत्रबाट हुण्डी कारोबार समेत तीव्र गतिमा भइरहेको स्थानीयवासीहरूको भनाइ छ। भारत–नेपाल सीमाको भेगमा यो आपराधिक आर्थिक कारोबार खुलेआम चलिरहेको छ।

पूर्व इन्स्पेक्टर ढकाल हटे, नयाँ प्रमुख पनि विवादमा
यसअघि पोखरियाका इन्स्पेक्टर राजन ढकाललाई तस्करी, असुली, कार्यसम्पादन कमजोर तथा गुनासोका कारण पाँच महिनामै हटाइएको थियो। तर, उनीपछिका प्रमुख स्वरुप शर्मा पनि उस्तै बाटोमा लागेको स्थानीयको आरोप छ।

यस विषयमा बुझ्दा इन्स्पेक्टर शर्माले “सूचना संकलन र फरार अभियुक्त पक्रनका लागि मात्रै खटाइएको” प्रतिक्रिया दिए।
जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले भने, “को रहेछ, म आजै बुझ्छु” भन्दै अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धर्मेन्द्र प्र. यादव

लेखकको बारेमा

धर्मेन्द्र प्र. यादव

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज