खगेन्द्र सुनारको चुनौती : ‘निष्पक्ष छानबिन होस्, दोषी ठहरिए सजाय भोग्न तयार छु’

NEWS DESK
२०८३ आश्विन २९, बिहीबार १०:१७ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपबारे निष्पक्ष छानबिन गर्न आग्रह गर्दै दोष प्रमाणित भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सुनारले अनुसन्धानका क्रममा आवश्यक परे आफूलाई प्रतिनिधिसभा सदस्य तथा पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत चुनौती दिएका छन् ।

उनले आफूमाथि उठेका प्रश्नको छानबिनमा पार्टी, सरकार र राज्यका सबै निकायलाई सहयोग गर्न तयार रहेको बताएका छन् । आफूले कुनै कुकर्म गरेको प्रमाणित भए कानुनअनुसार जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।

सांसद सुनारले आफूमाथिका आरोपसँगै एक निर्दोष महिलालाई समेत जोडेर अतिरञ्जित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । फोटो, अडियो र भिडियो जोडेर अनर्गल टिप्पणी तथा ‘मिडिया ट्रायल’मार्फत चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ ।

आफूमाथि कुनै विषयमा अनुसन्धान गर्नुपर्ने भए सम्बन्धित निकायले कानुनी प्रक्रियामार्फत अनुसन्धान गरी आवश्यक कारबाही गर्नुपर्ने उनको भनाइ छ । उनले महिलाको पहिचान र प्रतिष्ठामा असर पर्ने गरी प्रचार गरिएको विषयमा पनि प्रश्न उठाएका छन् ।

‘मैले कुनै विषयमा प्रश्न गरेँ वा मुद्दा उठाएँ भन्दैमा ममाथि प्रश्न गर्नै नपाइने भन्ने होइन,’ सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘प्रश्न उठेको छ, समाचार आएको छ, त्यसैले निष्पक्ष छानबिन होस्।’

उनले आफू एक जिम्मेवार नागरिक र जनप्रतिनिधि भएकाले आफूमाथि उठेका सबै आरोपको सत्यतथ्य बाहिर आउनुपर्ने बताएका छन् । छानबिनबाट दोष प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।

यसअघि रास्वपाले सांसद सुनारमाथि गम्भीर प्रश्न उठेको भन्दै केन्द्रीय अनुशासन आयोगमार्फत आन्तरिक छानबिन सुरु गरेको थियो । छानबिन पूरा नभएसम्म उनलाई पार्टीका कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशनसमेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्