वीरगञ्ज । पर्सा प्रहरीले विशेष सूचनाका आधारमा ५० किलो गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ। मंगलबार राति ९:३० बजे वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जमा भएको प्रहरी कारबाहीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–१ बिश्रामपुरका ४० वर्षीय पारस यादव, ५२ वर्षीय मैनादिन मियाँ, वडा नं. ७ तिकुलियाका ३६ वर्षीय अकवर मियाँ, र छप्कैयाका ४५ वर्षीय शिव महतो रहेका छन्।
प्रहरीले हरपतगञ्ज चोकबाट करिब ५०० मिटर पश्चिमतर्फ कुलोको बाटो हुँदै गाँजा बोकिरहेका चारजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउका क्रममा प्लास्टिकको बोरा भित्र रातो प्लास्टिकमा बेरिएको अवस्थामा ५० किलो गाँजा बरामद गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए।
हाल पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ।