कमान्ड प्रणाली र शान्तिसुरक्षाबारे छलफल गर्न सातै प्रदेशका प्रहरी प्रमुख काठमाडौंमा

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १६:४३ बजे

काठमाडौं । नेपाल प्रहरीको संगठनात्मक चेन अफ कमान्ड, शान्तिसुरक्षा व्यवस्थापन तथा प्रहरीप्रतिको जनविश्वासका विषयमा नीतिगत छलफल गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुख र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखलाई काठमाडौं बोलाएको छ।

प्रहरी स्रोतका अनुसार संगठनको नेतृत्व, कामकारबाही र निर्णय प्रक्रियालाई लक्षित गरी सार्वजनिक रूपमा भइरहेका टिप्पणी तथा मिडिया ट्रायलले आन्तरिक कमान्ड प्रणाली र शान्तिसुरक्षा व्यवस्थापनमा पार्न सक्ने प्रभावबारे छलफल गर्न प्रहरी प्रमुखहरूलाई हेडक्वार्टर बोलाइएको हो।

प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो १२ बजेभित्र नक्सालस्थित मुख्यालयमा उपस्थित हुन सम्बन्धित प्रहरी प्रमुखहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ।

प्रदेश तथा उपत्यकाको सुरक्षा कमान्ड सम्हालिरहेका प्रमुखहरूसँग छलफलपछि प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बस्ने तयारी छ। बैठकमा प्रहरी प्रधान कार्यालयका अधिकारीसँगै काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकृत सहभागी हुने बताइएको छ।

बैठकमा संगठनको कमान्ड प्रणालीलाई थप प्रभावकारी बनाउने, शान्तिसुरक्षा व्यवस्थापनमा समन्वय बढाउने तथा प्रहरीको कार्यसम्पादनमा पर्न सक्ने असर न्यूनीकरण गर्ने विषयमा छलफल हुने स्रोतको भनाइ छ।

पछिल्लो समय प्रहरी संगठनका गतिविधि, नेतृत्व र निर्णय प्रक्रियालाई लिएर सार्वजनिक बहस तथा सञ्चारमाध्यममा विभिन्न विषय उठिरहेका छन्। यस्तो अवस्थामा तथ्यमा आधारित आलोचना र प्रश्नलाई सम्बोधन गर्दै संगठनको नियमित कामकारबाही प्रभावित हुन नदिन आवश्यक नीतिगत स्पष्टता कायम गर्ने विषयलाई प्रहरी नेतृत्वले प्राथमिकतामा राखेको बताइएको छ।

नागरिकको सुरक्षा, कानुन कार्यान्वयन र शान्तिसुव्यवस्था कायम गर्ने जिम्मेवारीलाई प्रभावकारी बनाउन संगठनभित्र समन्वय र कमान्ड प्रणाली सुदृढ गर्नुपर्नेमा प्रहरी नेतृत्वले जोड दिएको स्रोतले जनाएको छ।

सातै प्रदेशका प्रहरी प्रमुख र उपत्यका प्रहरी नेतृत्वलाई एकैपटक काठमाडौं बोलाइनुलाई संगठनात्मक समन्वय मजबुत बनाउने तथा समसामयिक सुरक्षा चुनौतीबारे साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्