चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, पर्सा प्रहरीको सर्वसाधारणमा अपिल

न्यूज डेस्क
२०८३ आश्विन २१, बुधबार १०:३९ बजे

वीरगंज । नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ।

चाडपर्वका बेला हुने मानिसको अत्यधिक आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा हुने भीडभाड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधि, किनमेल तथा आर्थिक कारोबारमा हुने वृद्धिलाई मध्यनजर गर्दै प्रहरीले जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन विभिन्न स्थानमा प्रहरी परिचालन गरेको जनाएको छ।

प्रहरीका अनुसार चाडपर्व अवधिमा विशेष निगरानी, गस्ती तथा चेकजाँचलाई बढाइएको छ। सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी जनशक्तिलाई विभिन्न स्थानमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा आपराधिक घटना, शान्ति सुरक्षामा खलल, मादक तथा मनोद्दीपक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने वा खेलाउने, आतसबाजी गर्ने तथा ठगीलगायतका गतिविधि हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

प्रहरीले कुनै आपराधिक गतिविधि वा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिबारे जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत अपिल गरेको छ। सुरक्षित चाडपर्वका लागि प्रहरी–नागरिक सहकार्य आवश्यक रहेको भन्दै प्रहरीले नागरिकलाई आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले सुरक्षित र उल्लासमय वातावरणमा चाडपर्व मनाउन सर्वसाधारणमा अपिल गरेका छन्।

प्रहरी कन्ट्रोल कक्षका लागि १००, ९८५५०९०१३६ र ९८५५०९०३२९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्