बिरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित लिंकरोडमा रहेको मेरी स्टोप्स सेन्टरमा गर्भपतन गराउँदा २४ वर्षीया एक महिलाको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–६ भौवराटारकी लालसा साह कानुको मृत्यु बिहीबार बिहान १० बजे नारायणी सेन्ट्रल अस्पतालमा भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक कानु मंगलबार बिहान श्रीमानसँग मेरी स्टोप्स सेन्टर गएकी थिइन्। त्यही दिन बेलुका गर्भपतन गरिएको थियो। तर, त्यसपछि अत्यधिक पेट दुख्ने र रक्तश्राव हुने समस्याले स्वास्थ्य अवस्था जटिल बन्दै गएको मृतकका श्रीमानले बताए।
स्थिति गम्भीर भएपछि सेन्टरका डाक्टर साकेस कुमार ठाकुरको सल्लाहअनुसार कानुलाई बुधबार बिहान ४ बजे वीरगञ्जकै विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा लगिएको थियो। अस्पतालमा भर्ना गरिएलगत्तै उपचार सुरु भए पनि कानुको ज्यान जोगाउन सकिएन।
कानुको मृत्यु पछि डाक्टर ठाकुर सम्पर्कविहीन रहेको बताइएको छ। मृतकका श्रीमानका अनुसार गर्भपतनका क्रममा पेटको नली काटिएकोले भित्रै रक्तश्राव भयो र त्यही कारण ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। कानुको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।
मेरी स्टोप्स सेन्टरलाई सुरक्षित गर्भपतन केन्द्रका रूपमा प्रचार गरिए पनि मृतकका परिवारले यो केन्द्रलाई “घातक” भएको आरोप लगाएका छन्। घटनापछि स्थानीयबासी र परिवारजनले दोषीको तत्काल खोजी र कारबाहीको माग गरेका छन्।
घटनाले नेपालमा सुरक्षित गर्भपतन सेवाको निगरानी र प्रभावकारी नियमनको आवश्यकता अझ चर्को रूपमा उठाएको छ।


तपाईको प्रतिक्रिया !