जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित बिहीबारे टोलबाट प्रहरीले १६ किलो २७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ५६ वर्षीय झनकबहादुर ठकुरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ठकुरीको घरमा गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले मंगलबार उनको घरमा खानतलासी गरेको थियो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रदीप बस्यालको नेतृत्वमा खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ठकुरीको घरभित्रबाट ३ किलो ५२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, घरबाट करिब ५० मिटर पूर्वस्थित सरे खोलाको कासघारीबाट थप १२ किलो ७५० ग्राम गाँजा फेला परेको थियो।
प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गरिएको गाँजाको कुल तौल १६ किलो २७० ग्राम रहेको छ।
पक्राउ परेका ठकुरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया !