बाराबाट ८० हजार रुपैयाँको पटाका बरामद, दुई जना पक्राउ

NEWS DESK
२०८३ कार्तिक १०, मंगलवार १८:५४ बजे

बारा, १० कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया प्रहरी चेकपोइन्टबाट प्रहरीले करिब ८० हजार रुपैयाँ मूल्यका विभिन्न सात प्रकारका पटका बरामद गरेको छ। पटका ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान करिब ८ः३० बजे प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको माछा बोकेको पिकअप जाँच गर्ने क्रममा पटका फेला पारेको हो।

प्रहरीका अनुसार माछासँगै लुकाइछिपाइ लैजाँदै गरिएको अवस्थामा सात प्रकारका ६४ डिब्बा पटका बरामद गरिएको हो। बरामद पटाकाको अनुमानित मूल्य करिब ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्।

पटका ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको छ।

बरामद पटका तथा नियन्त्रणमा लिइएका दुवै जनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्