वीरगञ्जमा थोक तरकारी बजार सार्न २१ दिनको अल्टिमेटम

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १७:१८ बजे

वीरगञ्ज, १२ कात्तिक । वीरगञ्ज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ।

महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्र छरिएर थोक कारोबार गरिरहेका व्यवसायीलाई वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा स्थानान्तरण हुन निर्देशन दिएको हो।

महानगरपालिकाका अनुसार विभिन्न स्थानमा अव्यवस्थित रूपमा थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात आवागमन तथा उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न भइरहेको छ। यी समस्या समाधान गर्न थोक कारोबारलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको सूचनामा उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा निर्धारित समयभित्र छपकैयास्थित थोक बजारमा स्थानान्तरण भई कारोबार सञ्चालन गर्न भनिएको छ। तोकिएको स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सञ्चालन गर्नसमेत महानगरपालिकाले रोक लगाएको छ।

निर्धारित समयसीमाभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले चेतावनी दिएको छ। समयमै बजार नसार्दा उत्पन्न हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा उल्लेख छ।

वीरगञ्जलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण रोक्न, बजार व्यवस्थापन सुधार गर्न तथा यातायात आवागमन सहज बनाउन महानगरपालिकाले यस्तो कदम चालेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्