जबसम्म सास छ, तबसम्म आश छ’ : मुख्यमन्त्री यादव

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १८:२४ बजे

जनकपुरधाम । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्ने आशा व्यक्त गरेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने उल्लेख गर्दै उनले पक्षमा वा विपक्षमा जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने बताएका छन् । अन्य राजनीतिक दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको र विश्वासको मत लिने समयसम्म राजनीतिक परिस्थिति अनुकूल बन्न सक्ने उनको अपेक्षा छ ।

‘त्यो बेलासम्म केही त होला । राम्रो परिणाम आउला, नभए नराम्रो आउला । जबसम्म सास छ, तबसम्म आश गर्नुपर्‍यो नि,’ मुख्यमन्त्री यादवले भने ।

एमालेले सरकारबाट बाहिरिनुको कारण १५ बुँदे सहमति कार्यान्वयन नभएको विषयलाई बनाएको उनले बताए । तर, सहमतिका केही बुँदा कार्यान्वयन भइसकेको र केही कार्यान्वयनको प्रक्रियामा रहेको उनको दाबी छ ।

प्रदेशमा नयाँ गठबन्धन बन्ने चर्चालाई सामान्य रूपमा लिएको बताउँदै यादवले राजनीतिक दलका मुद्दा, उद्देश्य र स्वार्थ मिल्दा गठबन्धन बन्ने तथा फेरिने बताए । सरकारको भविष्यबारे पार्टीको केन्द्रीय नेतृत्वसँग नियमित सम्पर्कमा रहेको पनि उनले जानकारी दिए ।

गत असोज ३० गते एमाले तीनदलीय गठबन्धन सरकारबाट बाहिरिएपछि मधेस प्रदेश सरकार अल्पमतमा परेको हो । नेपाली कम्युनिस्ट पार्टीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री यादवले कात्तिक २९ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

प्रदेशसभाको अंकगणितका आधारमा मुख्यमन्त्री यादवलाई विश्वासको मत जुटाउनु चुनौतीपूर्ण देखिएको छ । अन्य दलसँगको छलफल, सम्भावित गठबन्धन र सांसदहरूको समर्थनले उनको सरकारको भविष्य निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्