वीरगञ्ज । सेवाप्रवाह, सरसफाइ तथा व्यवस्थापनमा सेवाग्राहीको गुनासो बढेपछि बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले शुक्रबार प्रादेशिक अस्पताल कलैयाको छड्के अनुगमन गरेका छन्।
अनुगमनका क्रममा प्रजिअ अधिकारीले अस्पताल परिसर, भित्री कक्ष तथा चिकित्सक बस्ने कोठाको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। अस्पतालभित्र र बाहिर फोहोर देखिएको भन्दै तत्काल सरसफाइकर्मी परिचालन गरी परिसर सफा र व्यवस्थित राख्न उनले आग्रह गरे। आगामी अनुगमनमा अस्पताल परिसर तथा चिकित्सकका कोठामा फोहोर देखिन नहुने उनको भनाइ थियो।
उनले अस्पतालका कर्मचारीको ड्युटी तालिका सबैले देख्ने गरी राख्न, उपलब्ध मेसिन तथा उपकरण सञ्चालनमा ल्याउन र जनशक्तिको अधिकतम उपयोग गर्न पनि निर्देशन दिएका छन्। जनशक्ति अभाव रहे पनि उपलब्ध कर्मचारीको उचित व्यवस्थापन गरी सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।
प्रजिअ अधिकारीले ओपीडी सेवा नागरिकका लागि सहज र सर्वसुलभ बनाउन तथा अस्पतालबाट वितरण हुने निःशुल्क औषधिको आम्दानी र खर्चको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न निर्देशन दिएका छन्।
त्यस्तै, प्रयोगशाला (ल्याब) सेवाप्रति सेवाग्राहीको गुनासो बढेको भन्दै नमुना संकलन गर्ने समय र रिपोर्ट उपलब्ध गराउने अवधि स्पष्ट उल्लेख गरी प्रयोगशालाको अगाडि सूचना टाँस्न उनले निर्देशन दिए। यसबाट सेवाग्राहीलाई सेवा लिन सहज हुने उनको भनाइ थियो।
अनुगमनका क्रममा अस्पतालमा उपलब्ध उपकरणको पूर्ण उपयोग हुन नसकेको विषय पनि उठेको थियो। रेडियोलोजी सेवामा प्रयोग भइरहेका दुईवटा मेसिनमध्ये एउटा मात्र सञ्चालनमा रहेको र अर्को पुरानो मेसिन मर्मत हुन नसकेको जानकारी अस्पताल प्रशासनले गराएको थियो। एक्सरे मेसिनको अवस्थासमेत सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
उपलब्ध मेसिनलाई आवश्यकताअनुसार अद्यावधिक गर्न र मर्मत सम्भव नभए नयाँ मेसिनबाट प्रतिस्थापन गर्न प्रजिअ अधिकारीले निर्देशन दिएका छन्। त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउन उनले अस्पताल प्रशासनलाई आग्रह गरे।
छलफलका क्रममा अस्पताल प्रशासनले सरसफाइमा विशेष ध्यान दिने तथा उपलब्ध उपकरण र सामग्रीको उचित उपयोग गर्ने प्रतिबद्धता जनाएको छ। अस्पतालको जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार र सेवा प्रवाहमा सुधार ल्याउनुपर्नेमा प्रजिअ अधिकारीले जोड दिएका छन्।
अनुगमनमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डल, सूचना अधिकारी केविन्द्र प्रसाद यादव, लेखा प्रमुख रामबालक प्रसाद यादव तथा जेनजी एन्ड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेलगायतको उपस्थिति थियो।


तपाईको प्रतिक्रिया !