काग तिहार आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै

NEWS DESK
२०८३ कार्तिक २१, शनिवार ०८:२३ बजे

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा बिहानैदेखि हिन्दु धर्मावलम्बीहरूले कागलाई यमराजको दूत तथा सन्देशवाहकका रूपमा पूजा गरी मीठा खानेकुरा अर्पण गरिरहेका छन्।

पाँच दिनसम्म मनाइने यमपञ्चकअन्तर्गत कार्तिक कृष्ण त्रयोदशीको सूर्योदयकालमा काग तिहार मनाउने धार्मिक परम्परा रहेको छ। नेपाली समाजमा काग कराएमा नयाँ सन्देश आउने वा पाहुना आउने सङ्केतका रूपमा लिने जनविश्वाससमेत रहिआएको छ।

हिन्दु धार्मिक मान्यताअनुसार कागलाई मृत्युका देवता यमराजको दूत मानिन्छ। पृथ्वीमा रहेका सम्पूर्ण जीवजन्तुको जन्म र मृत्युको विवरण राख्ने यमराजसम्म सूचना पुर्‍याउने माध्यमका रूपमा कागलाई लिने गरिन्छ। आकाशमार्गबाट छिटो सन्देश आदानप्रदान गर्न सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको पौराणिक विश्वास छ।

कागलाई दही–भातलगायत विभिन्न परिकार खुवाएर पूजा गर्ने परम्परा रहेको छ। कागलाई भोजन गराउँदा यमराजसमक्ष शुभ सन्देश पुग्ने र मृत्युजन्य सङ्कटबाट रक्षा हुने धार्मिक विश्वास गरिन्छ। कागलाई भोजन नगराई आफूले मात्र खाना खाए पाप लाग्ने जनविश्वाससमेत नेपाली समाजमा प्रचलित छ।

काग तिहारले धार्मिक आस्थासँगै प्रकृति, पशुपक्षी तथा जीवजन्तुप्रति सम्मान र सहअस्तित्वको सन्देश पनि प्रवाह गर्दै आएको छ। मानिस र चराचुरुङ्गीबीचको सम्बन्धलाई स्मरण गराउने यस पर्वले जैविक विविधताको संरक्षण र पक्षीप्रतिको कृतज्ञताको भावनासमेत उजागर गर्छ।

पौराणिक मान्यताअनुसार भगवान् विष्णु राजा बलिको दानशीलताबाट प्रसन्न भई पाँच दिनसम्म पृथ्वीको शासन गर्ने अधिकार प्रदान गरेका थिए। सोही विश्वासका आधारमा यमपञ्चकका अवसरमा राजा बलिको स्मरण तथा पूजा गर्ने परम्परासमेत रहिआएको छ।

काग तिहारको अवसरमा आज काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा रहेको कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिँदैछ। यी मन्दिरमा कागको पूजा तथा दर्शनका लागि भक्तजनहरूको भीड लाग्ने गर्दछ।

यसरी धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्रकृतिप्रतिको सम्मानलाई जोड्दै तिहारको पहिलो दिन काग तिहार हर्षोल्लासका साथ मनाइँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्