वीरगन्ज । दीपावलीको अवसरमा वीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेजको टोली प्रथम भएको छ।
कलेजको इभेन्ट कमिटीद्वारा आयोजित प्रतियोगितामा प्रशासन, आईबीएमएस, नर्सिङ कलेज, नर्सिङ स्टाफ र डेन्टल गरी पाँचवटा टोलीले सहभागिता जनाएका थिए। सहभागी टोलीहरूले रंगोलीमार्फत दीपावलीको सांस्कृतिक महत्त्व, परम्परा र मौलिकतालाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेका थिए।
प्रतियोगिताको नतिजाअनुसार नर्सिङ कलेजको टोली प्रथम, आईबीएमएसको टोली द्वितीय र नर्सिङ स्टाफको टोली तृतीय भएका छन्। त्यस्तै प्रशासन टोलीले चौथो र डेन्टल टोलीले पाँचौँ स्थान हासिल गरेका छन्।
कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान तथा प्राचार्य प्रा. डा. के.एन. सिंहको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले रंगोली नेपाली तथा दक्षिण एसियाली चाडपर्वको सांस्कृतिक पहिचान, सिर्जनशीलता र सौन्दर्यको महत्त्वपूर्ण अभिव्यक्ति भएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले विभिन्न विभागमा कार्यरत कर्मचारीबीच आपसी सद्भाव, एकता, सहकार्य र संस्थाप्रतिको अपनत्व बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताको निर्णायक मण्डलमा उपप्राचार्य डा. रविशंकर गुप्ता, प्रा. डा. बबिता सिंह, प्रा. डा. सरोज देउ, प्रा. गंगा गुरुङ र प्रमुख वित्त अधिकृत मुकुन्द भुसाल रहनुभएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। चौथो र पाँचौँ स्थान हासिल गर्ने टोलीलाई समेत सान्त्वना पुरस्कारस्वरूप नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार तथा प्रमाणपत्र कलेजका अध्यक्ष अन्सारीले वितरण गर्नुभएको थियो।
कार्यक्रमको नेतृत्व इभेन्ट कमिटीका अध्यक्ष तथा प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीपकुमार चौधरीले गर्नुभएको थियो। कमिटीको सदस्य–सचिवमा ऋचा सिंह तथा सदस्यहरूमा जितेश चन्द्र दास, विश्वनाथ कण्ठ, केशव भण्डारी, ब्रजकिशोर चौधरी र सन्तोष पोखरेल रहनुभएको थियो।


तपाईको प्रतिक्रिया !