सिरहा । सिरहा प्रहरीले विभिन्न समयमा बरामद गरेका करिब डेढ लाख रुपैयाँ मूल्य बराबरका अवैध पटाका तथा विस्फोटक पदार्थ नष्ट गरेको छ। चाडपर्वका बेला हुन सक्ने आगलागी, दुर्घटना तथा सम्भावित जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले उक्त सामग्री नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका विभिन्न प्रहरी कार्यालयबाट खटिएका टोलीले बजार क्षेत्र र सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएका विभिन्न प्रकारका पटाका तथा विस्फोटक सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार करिब एक लाख ५० हजार रुपैयाँ बराबरका पटाका तथा विस्फोटक पदार्थ सिरहा नगरपालिका–६ स्थित कमला नदीको किनारमा ठूलो खाल्डो खनेर पुरिएको हो।
स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको रोहवरमा उक्त सामग्री विधिवत् रूपमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
चाडपर्वको समयमा पटाकाको अवैध ओसारपसार, भण्डारण, बिक्रीवितरण तथा प्रयोगले आगलागी, मानवीय क्षति र अन्य गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको छ।
प्रहरीले अवैध पटाकाको कारोबार तथा प्रयोग नियन्त्रण गर्न बजार अनुगमन, छड्के जाँच र सुरक्षा निगरानीलाई थप कडा बनाइएको जनाएको छ। साथै, अवैध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन अवैध पटाकाको कारोबार तथा प्रयोग नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।


तपाईको प्रतिक्रिया !