राष्ट्रपतिको कदमविरुद्ध संयुक्त विद्यार्थी संगठनद्धारा आन्दोलन घोषणा, मण्डलामा आज कार्टुन प्रदर्शनी !

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ६, बिहिवार ०२:०६ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोधको कार्यक्रम घोषणा गरेका हुन्।



विरोधको कार्यक्रमहरुमा असोज ६ गते देशभरका सम्पूर्ण जिल्लामा संयुक्त विरोध प्रदर्शन गर्ने, ६ गते नै माइतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त विरोध प्रदर्शन गर्ने र असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गरिने जनाइएको छ।



यस्तै सत्तारुढ गठबन्धन दलका संयुक्त युवा संगठनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको र यसले जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन भएको ठहर गरेको छ ।

बुधबार बसेको सरकारमा सहभागी दलहरूको युवा संगठनको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्