२५ एसपी एसएसपी बढुवा सिफारिसः आईजीपीले अडान लिंदा बरिष्ठताकै आधारमा बढुवा



काठमाडौं । निकै रस्साकस्सीपछि सोमबार मध्यरातमा नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार राति बसेको बढुवा समितिको बैठकले एसएसपी बढुवा सिफारिस गरेको हो । बढुवामा पहिलो र दोस्रो लटकै ३७ जना प्रतिस्पर्धी हुँदाहुँदै तेस्रो र चौथो लटका छिराउने कदमबाट गृहमन्त्री रमेश लेखक पछाडि हटेका छन् । पहिलो र दोस्रो लटबाटै बरिष्ठता र कार्यक्षमता अनुसार बढुवा गराउन आईजीपी बसन्तबहादुर कुँवर सफल भएका छन् । यद्यपि त्यसमा केही एसपीहरु छुटेका छन् ।

यो सरकारको गठनकर्ता रामेश्वर थापा भएकाले उनका भाइ रमेश थापा पहिलो वरियतामा पर्नु स्वभाविक रुपमा लिइएको छ । अजय केसीलाई दोस्रो नम्बरमा पार्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्री केपी ओलीकोमा नै अनुनय बिनय गर्न पुगेका थिए । स्रोतका अनुसार एसएसपी भूपेन्द्र खत्रीले केसीलाई खड्काकोमा जानका लागि सिकाएका थिए । त्यसो त बालुवाटारमा नवीन बस्नेतलाई पनि केसीले परिचालन गरेका थिए ।

बीरबहादुर बुढामगरलाई माओवादी निकटको ट्याग लागेको भए पनि उपत्यका प्रहरीबाट १५ दिनअघि निबृत्त भएकी किरण बज्राचार्यले शक्तिकेन्द्रमा लगेर उनको चार नम्बरमा बढुवा गराएकी थिइन् । अनुपमशमशेर जबरालाई बालुवाटारबाटै सूची पठाइएको थियो ।

एसएसपी बढुवाको दसौं वरियतासम्ममा पर्नेहरुमा नवराज अधिकारी, कृष्ण कोइराला, होविन्द्र बोगटी, कृष्ण पँगेनी, गोविन्द अधिकारी र विनोद सिलवाल परेका छन् ।

त्यसैगरी श्यामकुमार महतो, बेद बिष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रन्जु सिग्देल,सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, संजयसिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का, प्रभुप्रसाद ढकाल बढुवा सिफारिस भएका छन् ।

बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बालुवाटारले दह्रो अडान नलिंदा दयानिधि ज्ञवाली र तुलबहादुर कार्की छुटेका छन् । उनीहरु एमाले नेतृत्वको सरकारमा बढुवा हुने चर्चा ब्यापक थियो । तर बालुवाटारले पूर्वतिरकै कृष्ण कोइराला, प्रभ्ु ढकाललाई बोक्दा ज्ञवाली र कार्की छुटेका छन् ।

पहिलो ब्याचका बिमल बस्नेत कारबाहीमा भएकाले बढुवा हुने संभावना कम रहेको थियो । कमल थापा हनीट्रयापिङ प्रकरणमा मुछिएकाले पूर्वकै भए पनि बढुवामा छुटेका छन् । प्रकाश रानाभाट धनुषाको एसपी हुँदा लागुऔषध मुद्दामा मातहत इलाका प्रहरी कार्यालयबाट पक्राउ गरिएका अभियुक्तहरुमध्ये दुई जना अभियुक्तलाई छुटाउन लेनदेन गरेको आरोप लागेर तानिएका थिए ।

त्यसैगरी ११२ टोलीका राकेश सिंह र राजीव बस्नेत पनि बढुवा सिफारिसमा अटाउन सकेनन् । सिनियर टोलीबाटै प्रवीण धिताल, दीपक पोखरेल, ज्ञानेन्द्र फुयाँल, दीपेन्द्र शाही पनि एसएसपी बढुवा सिफारिसमा पर्न सकेनन् । राष्ट्रिय अनुसन्धान बिभागबाट आएका केदार खनाल र रामप्रकाश साह पनि छुटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज