सर्लाही, २७ असार। इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीका इञ्चार्ज प्रहरी नायब निरीक्षक (प्र.ना.नि) सुभाष यादव असार महिनाका लागि सर्लाही जिल्लाका उत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, प्र.ना.नि यादवको नेतृत्वमा असार महिनाभरि चार करोड ३६ लाख ४२ हजार ७७१ रुपैयाँ बराबरको भन्सार छलिएका सामानहरू नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सामानहरूमा लसुन, इलेक्ट्रोनिक्स सामग्री, हार्डवेयर पार्ट्स, रबर, सुपारी, औषधि, कपडा लगायतका सामान रहेका छन्, जुन १० वटा ट्रकमार्फत तस्करी गरिएको थियो।
यस्तै, २२ असारमा परालको भुसले ढाकेर ल्याइएको ट्रकमा ८२० किलो काजु (झण्डै १३ लाख रुपैयाँ बराबर) बरामद गरिएको थियो।
साथै, यादवको नेतृत्वमा भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरी भारतमा हराएका नेपाली बालबालिकाको उद्धार कार्य समेत गरिएको थियो। यसबाहेक अन्य आपराधिक गतिविधिहरू नियन्त्रणमा पनि उनले महत्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गरेका छन्।
सुभाष यादवलाई अघिल्लो वर्ष नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को उपाधि प्रदान गरेका थिए।
उनको सक्रियता, प्रतिबद्धता र सफल नेतृत्वले तस्करी नियन्त्रणदेखि जनसुरक्षासम्मको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो।

