वीरगंज, १६ कार्तिक । पर्सा जिल्ला प्रहरी कार्यालयले असोज ७ देखि कात्तिक ७ सम्मको एक महिनामा लागूऔषध, मदिरा, चोरी, ठगी र विभिन्न प्रकारका अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार, यस अवधिमा ७ जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ। उनीहरूबाट खैरो हिरोइन ३१ ग्राम २९ मिलीग्राम, गाँजा ३१ किलो ९०० ग्राम, र चरेश ११ किलो बरामद गरिएको छ।
त्यस्तै, विभिन्न अपराधमा फरार रहेका १७ जनालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
मदिरा नियन्त्रणमा पनि पर्सा प्रहरीले ठूलो सफलता पाएको छ। वीरगंज नगर क्षेत्रबाट ४,६५० लिटर तयार मदिरा र ७,६२० लिटर कच्चा मदिरा नियन्त्रणमा लिएर १६ वटा भट्टी नष्ट गरिएको छ।
अवैध बालुवा र काठ नियन्त्रणमा पनि प्रहरीले कारबाही अघि बढाएको छ। तीन वटा अवैध बालुवा लोड भएका ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरिएको र १० क्युफिट सालको काठ पनि बरामद गरिएको छ।
सामुदायिक प्रहरी साझेदारी अन्तर्गत, पर्सा प्रहरीले ९८ सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १,३१० जनालाई प्रत्यक्ष लाभान्वित गरेको छ। यसै क्रममा हराएका १२ जना महिला तथा बालबालिकालाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ।
त्यस्तै, प्रतिबन्धित पटाका १७ लाख रुपैयाँ बराबर बरामद गरी नष्ट गरिएको छ।
विपद् उद्धारमा पनि प्रहरी सक्रिय देखिएको छ। उद्धार कार्यमा ७५० जना प्रहरी परिचालित भएको र दुई दिन लगातार राहत वितरणमा संलग्न भएर ४०८ परिवारलाई खाद्यान्न र मौसमी सामग्री उपलब्ध गराइएको छ।
प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार, पर्सा प्रहरी केवल अपराध नियन्त्रणमा मात्र नभई सामाजिक सचेतना, उद्धार र राहत कार्यमा पनि निरन्तर सक्रिय रहँदै आएको छ।