पर्सामा हुण्डी कारोबारमाथि प्रहरी आक्रामक – एसपी सुदीपराज पाठकको नेतृत्वमा धमाधम पक्राउ



वीरगंज । पर्सामा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकको नेतृत्वमा प्रहरीले धमाधम पक्राउ अभियान थालेको छ।

वीरगंजको भन्सार क्षेत्रमा स्रोत नखुलेको नेपाली १० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको रक्सौल निवासी ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्।

सीमापारी रक्सौलबाट वीरगंज आउँदै गरेका साहको मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई वीरगंज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ति चोकस्थित सडकमा प्रहरीले रोकेर जाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाइएका नेपाली १ हजार दरका नोट ७ सय थान र ५ सय दरका नोट ६ सय थान गरी कुल १० लाख रुपैयाँ बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

पक्राउ पर्ने व्यक्तिसँग बरामद रकमको स्रोत खुलेको छैन। प्रहरीले नगद रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारमा संलग्नता सम्बन्धी अनुसन्धान अघि बढाएको छ।

त्यसैगरी, मंसिर ७ गते पर्सा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणको हुण्डी रकमसहित अर्का एक जनालाई पक्राउ गरेको छ। पकाहामैनपुर गाउँपालिका–१ स्थित धोरे चेकपोस्टमा खटिएको संयुक्त टोलिले १५ लाख रुपैयाँबराबरको नगद बरामद गर्दै ३४ वर्षीय अवधेश पटेललाई नियन्त्रणमा लिएको छ।

जाँचका क्रममा बरामद रकम मोटरसाइकलको लेगगार्डमा राखिएको झोलाभित्र फेला परेको थियो। पर्सा प्रहरीले उल्लिखित रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको जनाएको छ र मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार थप अनुसन्धान भइरहेको छ।

पर्सा प्रहरीले स्रोत, संलग्न व्यक्ति र सम्भावित आपराधिक गतिविधिबारे अनुसन्धान जारी राखेको छ। एसपी सुदीपराज पाठकको सक्रिय नेतृत्वमा भइरहेको यो कारबाहीले जिल्लामा गैरकानुनी हुण्डी कारोबारमा ठूलो प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज