वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी सुदीप पाठकको नेतृत्वमा जिल्लामा लागुऔषध नियन्त्रण अभियानले तीव्रता पाएको छ। एसपी पाठकको कमाण्डमा सुरक्षा व्यवस्थालाई कडा बनाउँदै प्रहरीले लागुऔषध तस्करीविरुद्ध आक्रामक अपरेसन सञ्चालन गरेको छ। प्रहरीले २०८२ कार्तिक २६ देखि पुस ७ गतेसम्म पर्सा जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ भने यसमा संलग्न अनेक व्यक्तिहरू पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार सीमावर्ती क्षेत्र, राजमार्ग तथा शंकास्पद नाकाहरूमा निगरानी बढाउँदै विशेष टोली परिचालन गरिएको थियो। एसपी पाठकको निर्देशनमा जिल्ला प्रहरी कार्यालय पर्साले तस्करको सञ्जाल तोड्न सूचनामा आधारित छापा, आकस्मिक चेकजाँच र संयुक्त अपरेसनलाई प्राथमिकता दिएको छ। यस क्रममा लागुऔषध ओसारपसारमा प्रयोग भएका सवारीसाधनसमेत नियन्त्रणमा लिइएको थियो।
ठूलो परिमाणमा लागुऔषध चरेश बरामद, दुई जना पक्राउ
विशेष सूचनाका आधारमा पुस ५ गते साँझ करिब ७:३० बजे जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले वीरगंज–२२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रक रोकी जाँच गर्दा ट्रकको क्याबिनमा लुकाइ–छिपाइ गरिएको २४० केजी लागुऔषध चरेश जस्तो देखिने पदार्थ फेला परेको थियो। ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ निवासी २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २१ वर्षीय नवराज लो पक्राउ परेका छन्।
प्रतिमा चोकमा खैरो हिरोइनसहित चार जना पक्राउ
२०८२ मंसिर ४ गते अपराह्न करिब २ बजे वीरगंज–१५ स्थित प्रतिमा चोकमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको टोलीले चार जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लियो। तलासी गर्दा पर्सा जिल्ला वीरगंज–१९ बिन्दवासिनी निवासी करिब ३० वर्षीय शम्भु राउत कम्करको खल्तीबाट ४५ ग्राम खैरो हिरोइन जस्तो लागुऔषध फेला परेको थियो। पक्राउ पर्नेमा शम्भु राउत कम्कर, वीरगंज–१६ निवासी १९ वर्षीय चन्दन कुमार पण्डित, बहुदरमाई–१ निवासी ४० वर्षीय राजकिशोर मिश्र र भारत, बिहार राज्य मोतिहारी जिल्ला छटौनी निवासी २७ वर्षीय सचिन सिंह रहेका छन्।
१७६ केजी गाँजा बरामद, पिकअप गाडी र चालक पक्राउ
२०८२ मंसिर २९ गते साँझ ८ बजे प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले वीरगंज–१७ कोनिया स्थित सडकखण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्दा गाडीको पछाडि प्लास्टिकको बोरामा लुकाइ–छिपाइ गरिएको १७६ केजी लागुऔषध गाँजा जस्तो पदार्थ फेला परेको थियो। चालक रामेछाप जिल्ला खाडादेवी–१ निवासी २८ वर्षीय सुबराज श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो।
ट्रामाडोलसहित चार जना पक्राउ, ७६,१७० पिस बरामद
२०८२ मंसिर २३ गते साँझ ६ बजे वीरगंज–१५ प्रतिमाचोकस्थित सडकखण्डमा रोकिएको EV गाडीको जाँच गर्दा रातो र गुलाबी रंगका सुटकेसभित्र लुकाइ–छिपाइ गरिएको Tramadol Hydrochloride Capsules IP ६०,५३० पिस फेला परेको थियो। थप अनुसन्धानमा वीरगंज–२४ रामगढवामा डेराकोठा भाडामा लिएर योजनाबद्ध रूपमा १५,६४० पिस ट्रामाडोल लुकाइ राखिएको खुल्यो। पक्राउ परेकामा वीरगंज–२४ निवासी २० वर्षीय युवराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङ बेनिघाट रोराङ–६ निवासी १९ वर्षीय रामहरि मगर, धादिङ सिदलेख–७ निवासी १९ वर्षीय राजकुमार रहेका छन्।
१०४ केजी गाँजा सहित मारुती कार र दुई जना पक्राउ
२०८२ मंसिर १५ गते पर्सा–२ रंगपुरमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले मनवा तर्फबाट आउँदै गरेको BAB २३९८ नम्बरको मारुती सुजुकी कार रोकी १० पोकामा १०४ के.जी. ३२५ ग्राम लागुऔषध गाँजा बरामद गर्यो। पक्राउ परेकामा मकवानपुर जिल्ला भिमफेदी–८ बस्ने ३२ वर्षीय भिम स्याङ्तान (चालक) र मकवानपुरगढी–१ बस्ने ३८ वर्षीय कुमार स्याङ्तान रहेका छन्।
जिराभवानीमा २९ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
२०८२ मंसिर १३ गते राति प्रहरीले जिराभवानी–५ बाँसबारीमा भारत, बिहार राज्य वेतीया ग्राम मुसहरी–१३ निवासी ६५ वर्षीय गामा विनलाई पक्राउ गरी २९ केजी गाँजा बरामद गरेको थियो।
भारतीय नागरिकबाट ९.३८ केजी गाँजा बरामद
२०८२ कार्तिक २६ गते पर्सागढी–९ बडेर्वा पेट्रोलपम्प नजिक तीन जना भारतीय नागरिक पैदल हिँडिरहेको अवस्थामा रोकी चेकजाँच गर्दा क्रमशः ३ किलो १९० ग्राम, ३ किलो २५० ग्राम र ३ किलो ३०० ग्राम गाँजा फेला परेको थियो। पक्राउ परेकामा भारत, बिहार, बैशाली जिल्ला विदुपुर ग्राम निवासी २३ वर्षीय राजा कुमार, ऐ. राजामाइकल पञ्चायतका २३ वर्षीय विशाल कुमार र छपरा जिल्ला सोनपुर ग्राम–३ का २४ वर्षीय पिन्टु कुमार रहेका छन्।
७१ वर्षीय खेदु महतो धानुक ८ केजी गाँजा सहित पक्राउ
वीरगंज–३ चोर्नी बस्ने ७१ वर्षीय खेदु महतो धानुकको किराना पसलमा खानतलासी गर्दा पसलको पछाडि कोठामा लुकाइ राखिएको ८ केजी गाँजा बरामद गरिएको थियो।
पर्सा प्रहरी प्रमुख एसपी सुदीप पाठक आएपछि जिल्लामा सुरक्षा कडा भएको, अपराध नियन्त्रणमा गति आएको र तस्करी तथा भन्सार छलीमा कडाइ गरिएको स्थानीय तथा सुरक्षा अधिकारीहरूले मूल्यांकन गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले आगामी दिनमा पनि लागुऔषधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै अभियानलाई अझ कडा बनाउने स्पष्ट पारेको छ।