प्रहरीको पेस्तोल हरायो, मधेस प्रहरीमा हलचल – १२ जना प्रहरी जनकपुर तानिए



वीरगंज । बारामा नेपाल प्रहरीका एक अधिकृतको साथबाट सरकारी पेस्तोल रहस्यमय रूपमा हराएपछि मधेस प्रदेश प्रहरीमा तरङ्ग फैलिएको छ। इलाका प्रहरी कार्यालय कबहीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको सरकारी पेस्तोल हराएको घटनाले सुरक्षा संयन्त्रमै गम्भीर प्रश्न उठाएको छ।

घटना सार्वजनिक हुनासाथ मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले तत्काल कदम चाल्दै उक्त कार्यालयमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरीलाई अनुसन्धानका लागि प्रदेश कार्यालय तानेको छ। छानबिन अवधिभर कबहीमा अर्को प्रहरी टोली खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पेस्तोल हराएको घटना गत पुस ११ गतेको हो। जानकारी पाएलगत्तै प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा एसपी भेषराज रिजालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो। पुस १५ मा गठन भएको समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सकेर फर्किएपछि थप अनुसन्धानका लागि सबै प्रहरी कर्मचारीलाई शुक्रबार जनकपुर झिकाएको हो।

प्रारम्भिक बयानमा सई मिश्रले राति गस्तीका क्रममा हतियार हराएको बताएका छन्। तर, उनले ब्यारेकमै पेस्तोल हराएको भन्ने अर्को बयानसमेत दिएपछि घटनाको विवरण अस्पष्ट र शंकास्पद देखिएको छ। यही कारण सबै प्रहरीलाई अलग–अलग राखी सोधपुछ सुरु गरिएको छ।

छानबिन समिति संयोजक एसपी रिजालले भने, “त्यसबेला इलाका प्रहरी कार्यालयमा रहेका सबै कर्मचारीलाई प्रदेश प्रहरी कार्यालय झिकाएर छुट्टाछुट्टै अनुसन्धान अघि बढाइएको छ। दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिन्छ।”

यसैबीच, प्रहरी स्रोतले ड्युटीका क्रममा सीमा क्षेत्रमा सक्रिय तस्कर समूहले हतियार खोसेर लगेको हुन सक्ने आशङ्का पनि व्यक्त गरेको छ। तस्करीको सम्भावित कोणबाट अनुसन्धान भइरहेको भए पनि यसबारे प्रदेश प्रहरीले औपचारिक पुष्टि भने गरेको छैन।

सरकारी हतियार नै सुरक्षित नहुनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै प्रहरी प्रशासनले घटनामा संलग्न जो–कोहीलाई कडा विभागीय तथा कानुनी कारबाही गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज