वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँसहित तीन जना हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्सा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेका यी व्यक्तिहरूको साथबाट नगद रकम र ना. १६ प ३०२० नम्बरको एनएक्सजी स्प्लेन्डर मोटरसाइकल बरामद गरिएको छ।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४, देवरवाना निवासी २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन्। उनीहरूलाई जगरनाथपुर गाउँपालिका–३, गडैयाटोलस्थित सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार (हुण्डी कारोबार) मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता कार्कीले भने, “अवैध आर्थिक कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी अझ कडा बनाएको छ। नागरिकहरूले कुनै पनि संदिग्ध आर्थिक गतिविधि देखे प्रहरीलाई जानकारी गराउन अपील गर्दछौं।”
यो घटनाले पर्सामा अवैध हुण्डी कारोबारमाथि प्रहरीको सक्रिय निगरानी र कडा कारबाहीको संकेत गरेको छ।