वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–४ बाट पाँच महिनाअघि २१३ किलो गाँजासहित बरामद भएको ट्याक्टर प्रकरणमा प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षाका हयात अन्सारीलाई गत शुक्रबार नियन्त्रणमा लिएको हो। अन्सारीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमै राखिएको प्रहरीले जनाएको छ।
गत फागुन २६ गते जगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले २१३ किलो गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो। त्यसबेला ट्याक्टरका चालक तथा गाँजा कारोबारमा संलग्न व्यक्तिहरू प्रहरी टोलीलाई देखेपछि ट्याक्टर छाडेर फरार भएका थिए।
बरामद ट्याक्टरको धनीको खोजी गर्ने क्रममा अन्सारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले पुष्टि गरे।
“शंका लागेर उनलाई अनुसन्धानका लागि ल्याइएको हो। बरामद ट्याक्टरको धनीको नाम खुल्न सकेको छैन। यातायात व्यवस्था कार्यालयमा बुझ्ने काम भइरहेको छ,” प्रहरी निरीक्षक अधिकारीले भने।
प्रहरी स्रोतका अनुसार मकवानपुरको मनहरीका एक गाँजा कारोबारीलाई गाँजा कारोबारको लेनदेनसम्बन्धी विवादमा सोनवर्षाका समसुल र हयातलगायत व्यक्तिले केही दिनदेखि सोनवर्षास्थित एक कुखुरा फार्ममा राखेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
ती कारोबारीकी पत्नीले प्रहरीमा उजुरी दिएपछि गत शुक्रबार इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली परिचालन भएको थियो। प्रहरीले ती व्यक्तिको उद्धार गरी उनकी पत्नीको जिम्मा लगाएर घर पठाएको जनाएको छ। तर प्रहरी निरीक्षक अधिकारीले उक्त घटनालाई अपहरण वा बन्धक बनाइएको घटना नभएको स्पष्ट पारेका छन्।
“अपहरण वा बन्धक बनाएर राखेको होइन। लेनदेनको विवादमा ती व्यक्तिलाई सोनवर्षास्थित कुखुरा फार्ममा राखेका रहेछन्। हामीले ती व्यक्तिलाई उनकी श्रीमतीको जिम्मा लगाएर घर पठायौँ। हयात अन्सारीलाई भने अनुसन्धानका लागि नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेका छौँ,” अधिकारीले भने।
स्थानीयका अनुसार मकवानपुरका पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा तथा चरेस विभिन्न माध्यमबाट पर्सा राष्ट्रिय निकुञ्जको जंगलको बाटो हुँदै पर्साका ग्रामीण क्षेत्रमा ल्याएर भण्डारण गर्ने गरिएको छ।
सोनवर्षा, सुवर्णपुर, विजयवस्ती लगायतका क्षेत्रमा गाँजा भण्डारण गरी रातिको समयमा मोटरसाइकल, ट्याक्टरलगायतका सवारीसाधनमार्फत सीमापारि भारततर्फ लैजाने गरिएको स्थानीयको दाबी छ।
पटेर्वा सुगौली गाउँपालिकाको रंगपुरगादी र सोनवर्षामा गाँजा कारोबारमा संलग्न व्यक्तिहरूको जमघट हुने तथा त्यहीँ कारोबारसम्बन्धी आर्थिक लेनदेन हुने गरेको समेत स्थानीयले बताएका छन्।
प्रहरीले भने गाँजा कारोबारसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान तथा निगरानी जारी रहेको जनाएको छ। पक्राउ परेका अन्सारीको संलग्नता तथा बरामद ट्याक्टरको वास्तविक धनीबारे थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण खुल्ने प्रहरीले जनाएको छ।