वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा प्रहरीले करिब ३३ किलो अवैध लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। गाँजा कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ।
पटेर्वासुगौली गाउँपालिका–१ स्थित मलाही टोलमा अवैध गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा राति करिब १० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लका अनुसार प्रहरी टोलीले गाँजासहित कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उत्पन्न परिस्थितिका कारण दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो।
प्रहरीले घटनास्थलबाट करिब ३३ किलो गाँजा बरामद गर्नुका साथै पटेर्वासुगौलीका स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी सहनीलाई पक्राउ गरेको मल्लले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त गाँजा कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा सम्भावित तथा संदिग्ध व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। घटनासँग जोडिएका अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया !