वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–१ का सुमन पासवानले आफूलाई ‘क्राइम ब्रान्च’को प्रहरी भएको बताउँदै विभिन्न नाकामा व्यापारी तथा व्यवसायीसँग रकम असुली गर्ने गरेको आरोप लागेको छ।
स्थानीय व्यापारीका अनुसार शनिबार बिहान कालिकामाई गाउँपालिका–३ नजिकै साइकलमा कुखुरा लिएर आउँदै गरेका दुई जना व्यापारीलाई पासवानले बाटोमा रोकेका थिए। आफू वीरगञ्जबाट खटिएको ‘क्राइम ब्रान्च’को प्रहरी भएको बताउँदै उनले व्यापारीसँग कुखुरासम्बन्धी कागजात मागेको बताइएको छ।
व्यापारीहरूले नेपाल कुखुरा फर्मको बिल देखाए पनि पासवानले उक्त बिल च्यातिदिएको र रकम माग गरेको आरोप छ। व्यापारीहरूले रकम दिन अस्वीकार गरेपछि उनले कालिकामाईस्थित इलाका प्रहरी कार्यालय बिरञ्चीबर्वाका प्रहरीलाई बोलाएर कुखुरा नियन्त्रणमा लिन लगाएको स्थानीयको दाबी छ।
पछि कुखुरा नष्ट भएको जानकारी पाएपछि पोखरिया बजारका कुखुरा व्यवसायीहरूले घटनाबारे सोधपुछ थालेका थिए। व्यवसायीहरूले उक्त व्यक्ति सुमन पासवान भएको पहिचान गरेपछि उनलाई नियन्त्रणमा लिएर कुटपिट गर्न थालेको बताइएको छ। त्यसपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर पासवानलाई कार्यालयमा लगेको थियो।
स्थानीय व्यापारीहरूले पासवानले यसअघि पनि आफू प्रहरीको ‘क्राइम ब्रान्च’बाट खटिएको बताउँदै विभिन्न नाकामा व्यापारी तथा व्यवसायीसँग रकम माग्ने गरेको आरोप लगाउँदै आएका छन्।
तर, घटनापछि इलाका प्रहरी कार्यालय पोखरियामा लगिएका पासवानलाई सोधपुछपछि छाडिएको विषयमा स्थानीय स्तरमा प्रश्न उठेको छ। नक्कली प्रहरी बनेर ठगी तथा रकम असुली गरेको आरोप लागेका व्यक्तिमाथि थप अनुसन्धान नगरी छाडिएको भन्दै स्थानीयले चासो व्यक्त गरेका छन्।
यस विषयमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले पासवानलाई सोधपुछ गरिएको र उनले आफूले रकम नउठाएको बताएपछि छाडिएको प्रतिक्रिया दिएका छन्।
घटनामा लगाइएको आरोप पुष्टि हुन भने बाँकी छ। पासवानको भनाइ तथा घटनासँग सम्बन्धित अन्य पक्षको प्रतिक्रिया सार्वजनिक हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान वा कानुनी प्रक्रिया अघि बढाएको सम्बन्धमा समेत विस्तृत जानकारी सार्वजनिक गरेको छैन।


तपाईको प्रतिक्रिया !