सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीको ठूलो उपलब्धि : सवा ३ महिनामै झण्डै २६ करोडको अवैध सामग्री बरामद



वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, छिन्नमस्ता बाहिनीले सानो अवधिमा उल्लेखनीय सफलता हासिल गरेको छ। मात्र सवा तीन महिनाको अवधिमा बाहिनी मातहतका युनिटहरूले मधेस प्रदेशका विभिन्न जिल्लाबाट करिब रु. २५ करोड ८७ लाख ९५ हजार बराबरका अवैध सामान बरामद गर्न सफल भएका छन्।

सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालको कमाण्डमा रहेका मधेस प्रदेशअन्तर्गतका गणहरूले साउनदेखि कात्तिक १५ गतेसम्म सञ्चालन गरेका कारबाहीमा यो सफलता हासिल भएको बाहिनीले जनाएको छ।

उक्त अवधिमा ३० जना तस्कर पक्राउ परेका छन् भने विभिन्न जिल्लामा ठूलो परिमाणमा चोरी–तस्करीका सामान नियन्त्रणमा लिइएका छन्।

पर्सास्थित सशस्त्र प्रहरी नं. १३ गणले मात्रै करिब रु. ९ करोड ९८ लाख बराबरका अवैध सामग्री बरामद गरेको छ। त्यस्तै, सशस्त्र प्रहरी नं. ११ गण हेक्वा, रौतहटले करिब रु. २ करोड ९४ हजार ७६८ मूल्यका सामान बरामद गरेको एसपी रामहरी अधिकारीले जानकारी दिए।

त्यसैगरी, मानव बेचबिखनविरुद्धको कारबाही अन्तर्गत २१ जना महिलाको उद्धार र १९ जना पुरुष पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण अभियानमा सशस्त्र प्रहरीले २८ क्विन्टलभन्दा बढी गाँजा, ३० किलो चरेस, ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित १७ जना पक्राउ गरेको छ।

यससँगै, श्रोत नखुलेको रु. ५२ लाखभन्दा बढी नेपाली र रु. ७ लाख भारतीय रुपैयाँ पनि बरामद गरिएको बाहिनीले जनाएको छ। साथै, एक थान अवैध भरुवा बन्दुक समेत नियन्त्रणमा लिइएको छ।

डीआईजी ढकालले सीमाक्षेत्रमा हुने अवैध ओसारपसार, चोरी–तस्करी र लागुऔषध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्न सबै युनिटहरूलाई निरन्तर सतर्क रहन निर्देशन दिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज