वीरगंज पर्सालाई आर्थिक तथा औद्योगिक केन्द्र बनाउने दीर्घकालीन दृष्टि : अशोक टेमानी



वीरगंज – २४ माघ । पर्सा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई थप सशक्त बनाएका छन् । चुनावी प्रचार प्रसार अभियान अन्तर्गत पर्सा क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिकाको वडा नं. २ सिसियारी बैरियाका मतदाताहरुसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन् ।

घरदैलो कार्यक्रमको क्रममा टेमानीले स्थानीय बासिन्दासँग शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक र आधारभूत सेवासम्बन्धी समस्याहरू जानकारी दिलएका थिए । उनले मतदाताको सुझाव र अपेक्षालाई गम्भीरतापूर्वक लिँदै, आफू निर्वाचित भएपछि ती विषयलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका थिए । ‘म नेता होइन, जनताको सेवक भएर काम गर्न आएको छु’ उम्मेदवार टेमानीले भने । विगतको राजनीतिक अभ्यासभन्दा फरक र जवाफदेही शैलीको राजनीति आजको आवश्यकता हो ।’

जसपाका उम्मेदवार टेमानीले एक हप्ता अघिदेखि नै पर्सा क्षेत्र नं. २ का मतदाताहरुसँग भेटघाट, छलफल तथा समस्या सुन्ने बुझ्‌ने कार्यमा व्यस्त छन् । क्षेत्र २ अन्तर्गत पर्ने वीरगंज महानगरपालिकाको वडाहरु लगायत पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका अन्तर्गतका वडाहरुको गाउँ गाउँ, टोलटोलमा पुगेर टेमानीले जनताको समस्या बुझ्‌ने कार्यलाई सशक्त बनाएका छन् । निर्वाचित भएपछि जनताबाट उठाइएको गुनासा एवं समस्यालाई सम्बोधन गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै घरदैलो अभियानलाई उम्मेदवार टेमानीले तीब्र पारेका हुन् ।

मतदाताहरुसँगको भेटघाटको प्रत्यक्ष संवादको क्रममा टेमानीले मधेश र पर्साको दीर्घकालीन विकास योजनाको आवश्यकता रहेको बताएका थिए । वीरगंज लगायत पर्सा जिल्लालाई आर्थिक र औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न संघीय सरकारमा बलियो प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ थियो । ‘जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्‍याउने प्रतिनिधि आजको आवश्यकता हो,’ उनले थपे ।

घरदैलो अभियानमा स्थानीय मतदाताले टेमानीको सरल स्वभाव, सहज पहुँच र सक्रिय नेतृत्वको प्रशंसा गरेका थिए । विगत केही समयदेखि क्षेत्रमै निरन्तर सक्रिय रहेका उनले जनताको विश्वास जित्ने क्रममा ठोस भूमिका निर्वाह गरिरहेका छन् । यसले आगामी निर्वाचनमा टेमानीलाई व्यापक जनसमर्थन दिलाउने आशा जगाएको छ ।

घरको आँगनमै पुगेर उम्मेदवारलाई भेट्दा स्थानीयवासी उत्साहित देखिएका थिए । स्थानीयले भौतिक पूर्वाधार, सडक तथा नाला व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर, सिँचाइ सुविधा, मल–बीउको उपलब्धता तथा कृषिउपजको उचित मूल्य नपाएको पीडाबारे गुनासो व्यक्त गरेका थिए । स्थानीयले उठाएका विषयहरूलाई दीर्घकालीन समाधानतर्फ लैजान नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता उम्मेदवार टेमानीले जनाएका छन् । घरदैलो कार्यक्रमलाई भाषणमुखीभन्दा संवादमुखी बनाइएको कारण पर्सा क्षेत्र नं. २ का मतदातामा आशा पलाएको स्थानीयको भनाइ छ ।

बहुदरमाई नगरपालिका २ स्थित टोलहरुमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको समस्या गम्भीर रहेकाले यसपटक मतदाता परिवर्तनको अपेक्षासहित मतदानका लागि उत्साहित देखिएका छन् । विगतमा पटक पटक निर्वाचित भएर सरकारमा पुगेकाहरूले जनहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको गुनासो गर्दै स्थानीयले यसपटक सचेत निर्णय गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज