गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित दबौखानीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनामा जीप चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका–२ की नीता बगालेको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। गम्भीर घाइते नीता बगालेको स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा कालीगण्डकी गाउँपालिका–१ का छविलाल पाण्डे र गोमता पाण्डे तथा वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। उनीहरूको कालीगण्डकी सामुदायिक अस्पताल र पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार स्याङ्जाको वालिङबाट गुल्मीको सिरकोट हुँदै राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको थियो।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।


तपाईको प्रतिक्रिया !