वीरगञ्ज । पर्साको सीमावर्ती क्षेत्रमा युरिया मल तथा खाद्यान्नको अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरीले निगरानी र सुरक्षा सतर्कता बढाएको छ। भारतको इनर्वा नाका हुँदै पिडारी, पाण्डेपुर र भङ्गाहालगायतका स्थानबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग गरी मल तथा खाद्यान्न भित्र्याउने गरेको सूचनापछि प्रहरीले सीमा क्षेत्रमा जाँच कडा पारेको हो।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको मातहतमा रहेका प्रहरी चौकी पिडारीगुठी, सेढवालगायतका टोलीले सीमावर्ती क्षेत्रमा नियमित गस्ती, जाँच तथा निगरानी गरिरहेका छन्।
प्रहरीले वास्तविक किसानलाई कृषि प्रयोजनका लागि आवश्यक पर्ने एक–दुई बोरा युरिया मल ल्याउन सहजीकरण गर्ने जनाएको छ। तर व्यावसायिक प्रयोजनका लागि अवैध रूपमा मल तथा खाद्यान्न ओसारपसार गर्ने गतिविधिमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक विपन कार्कीले किसानको नाममा हुने अवैध मल तस्करी नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग समन्वय गरी निगरानी बढाइएको बताए। उनका अनुसार वास्तविक किसानलाई मल प्राप्त गर्न सहजीकरण गरिनेछ भने अवैध कारोबारमा संलग्न पाइएमा कानुनी प्रक्रिया अघि बढाइनेछ।
यसैक्रममा किसानका लागि ल्याइएको भनिएको केही बोरा मल प्रहरीले नियन्त्रणमा लिएको थियो। स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको रोहबरमा वास्तविक किसानको पहिचान गरी उक्त मल जीराभवानी गाउँपालिका–जीतपुर परसवामा जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, विभिन्न सीमावर्ती नाकाबाट मोटरसाइकलमा १० बोरा युरिया मल अवैध रूपमा नेपाल भित्र्याउने प्रयास भइरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि सम्बन्धित व्यक्तिहरू मल छाडेर मोटरसाइकलसहित फरार भएका थिए। प्रहरीले उक्त मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखेको छ।
बरामद गरिएको युरिया मल आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
कृषि प्रयोजनका लागि मलको उपलब्धता सुनिश्चित गर्न तथा किसानको आवश्यकतालाई प्राथमिकता दिन सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया !