काठमाडौँ । नेपालमा पछिल्लो ६ महिनामा सर्पले टोकेर ११३ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार वैशाखदेखि हालसम्म देशभर १ हजार ६४९ जनालाई सर्पले टोकेको छ।
सर्पदंशका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७९/८० मा देशभर ९ हजार १२० वटा सर्पदंशका घटना दर्ता भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा यो संख्या घटेर ८ हजार १८१ पुगे पनि आर्थिक वर्ष २०८१/८२ मा बढेर १० हजार १४४ पुगेको थियो।
प्रदेशगत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै सर्पदंशका घटना कोशी प्रदेशमा भएका छन्। उक्त प्रदेशमा २ हजार ९८३ जनालाई सर्पले टोकेको थियो। त्यस्तै, लुम्बिनीमा २ हजार ४०७, गण्डकीमा १ हजार ४५६, मधेसमा १ हजार ३६६ र बागमतीमा १ हजार २३६ वटा घटना दर्ता भएका थिए।
यस अवधिमा सुदूरपश्चिम प्रदेशमा ३७४ र कर्णाली प्रदेशमा ३२२ वटा सर्पदंशका घटना अभिलेख भएका थिए। तथ्याङ्कले सर्पदंशको जोखिम सबै प्रदेशमा रहे पनि कोशी र लुम्बिनीमा यसको प्रभाव बढी रहेको देखाउँछ।
ईडीसीडीको जुनोटिक तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार जलवायु परिवर्तन, वनविनाश र सर्पको प्राकृतिक बासस्थानमा आएको परिवर्तनले सर्पदंशका घटना बढ्न सक्ने देखिएको छ। सर्पले टोकेपछि झारफुकबाट निको हुने विश्वासका कारण बिरामी उपचारका लागि ढिलो अस्पताल पुग्ने समस्या पनि रहेको उनले बताए। उनका अनुसार जनचेतनाको कमीले जोखिम थप बढाएको छ।
नेपालभर हाल १०३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यद्यपि उपचार केन्द्रसम्म पुग्न हुने ढिलाइ, एन्टिभेनम औषधिको सीमित उपलब्धता र दक्ष स्वास्थ्यकर्मीको अभावले सर्पदंशबाट हुने मृत्यु न्यूनीकरणमा चुनौती थपेको छ।
सर्पले टोकेमा के गर्ने?
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सर्पदंशबाट जोगिन राति हिँड्दा टर्च बाल्ने, जुत्ता वा गम बुट लगाउने र खुट्टा छोपिने बाक्लो प्यान्ट प्रयोग गर्ने सुझाव दिएको छ। घरवरपरका घाँस तथा झारपात सफा राख्ने, जमिनका दुला टाल्ने, दाउरा वा पराल उठाउँदा सावधानी अपनाउने र सुत्नुअघि ओछ्यान तथा खाटमुनि जाँच गर्ने बानी बसाल्न पनि आग्रह गरिएको छ।
सर्पले टोकेमा बिरामीलाई शान्त राखी टोकेको अंगलाई सकेसम्म स्थिर राख्नुपर्छ। टोकेको ठाउँ काट्ने, चुस्ने वा कसेर बाँध्ने गर्नु हुँदैन। मलम, रासायनिक पदार्थ, तातो वा चिसो वस्तु प्रयोग गर्नुका साथै झारफुकमा समय बिताउनु पनि जोखिमपूर्ण हुन्छ। सम्भव भएसम्म सर्पको पहिचान गर्न सकिने गरी सुरक्षित रूपमा जानकारी राख्नुपर्छ, तर सर्प समात्ने वा मार्ने प्रयास गर्नु हुँदैन। बिरामीलाई जतिसक्दो चाँडो नजिकको अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउनुपर्छ।
सर्पदंश नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना
सर्पदंशबाट हुने मृत्यु तथा क्षति न्यूनीकरण गर्न सरकारले ‘सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ। कार्ययोजनाले मधेस, कोशी र लुम्बिनीलगायतका क्षेत्रलाई सर्पदंशको उच्च जोखिममा रहेको औँल्याएको छ।
कार्ययोजनामा उच्च जोखिम क्षेत्रको नक्साङ्कन, एन्टिभेनमको पर्याप्त मौज्दात, आपत्कालीन उद्धार तथा बिरामीलाई उपचार केन्द्रसम्म पुर्याउने प्रणालीको सुदृढीकरण र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिइएको छ। साथै, स्थानीय तह, विद्यालय र समुदायस्तरमा बहुभाषिक जनचेतना अभियान सञ्चालन गर्न तथा घरवरपर सरसफाइ, झुलको प्रयोग र सुत्नुअघि ओछ्यान जाँच गर्ने बानी विकास गर्न जोड दिइएको छ।
नेपालमा सर्पदंशका घटना बढ्दै जानु र उपचारमा हुने ढिलाइका कारण ज्यान गुमाउनुपर्ने अवस्था कायम रहनुले जनचेतना विस्तार, उपचार सेवाको पहुँच वृद्धि र समयमै अस्पताल पुर्याउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।


तपाईको प्रतिक्रिया !