वडाध्यक्ष बन्नै मान्दैनन् रास्वपाका नेता–कार्यकर्ता : रवि लामिछाने

NEWS DESK
२०८३ कार्तिक २०, शुक्रवार १८:३३ बजे

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र तल्लो तहका पदमा उम्मेदवारी दिन नेताकार्यकर्ताले रुचि नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले अधिकांश नेताकार्यकर्ताको चाहना एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुग्ने रहेको बताए। वडाध्यक्ष बन्नसमेत कोही इच्छुक नदेखिएको उल्लेख गर्दै उनले आफू नै राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बन्नुपर्ने अवस्था आउन सक्ने भन्दै व्यङ्ग्य गरे।

पार्टीभित्र पद र अवसरका लागि प्रतिस्पर्धा बढ्दै गएको बताउँदै लामिछानेले एउटा पदका लागि दुई जना आकांक्षीलाई व्यवस्थापन गर्नसमेत कठिन भइरहेको धारणा राखे। उनले नेताकार्यकर्तालाई पदको आकांक्षाभन्दा पार्टी निर्माण, संगठन विस्तार र जनताको सेवामा त्याग तथा समर्पण देखाउन आग्रह गरे।

लामिछानेले पार्टीले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ विधि अपनाएको जानकारी दिँदै यसले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र विधिसम्मत बनाउने विश्वास व्यक्त गरे।

उनको अभिव्यक्तिले रास्वपाभित्र तल्लो तहदेखि संगठन निर्माण र जिम्मेवारी बाँडफाँटमा देखिएको चुनौतीलाई उजागर गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तार र योग्य उम्मेदवार छनोटलाई प्राथमिकता दिनुपर्ने उनको भनाइको आशय देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्