काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज शनिबार एक मात्र खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको लुम्बिनी लायन्स आज पनि आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यका साथ मैदान उत्रनेछ। चार खेलबाट तीन जित र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्दै ७ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
लुम्बिनीले अहिलेसम्म प्रतियोगितामा कुनै हार बेहोरेको छैन। आजको खेलमा काठमाडौँलाई पराजित गर्दै शीर्ष स्थानलाई थप मजबुत बनाउने उसको लक्ष्य हुनेछ।
यता काठमाडौँ गोर्खाज पनि आजको खेल जित्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने दाउमा छ। तीन खेल खेलेको काठमाडौँले दुई खेलमा जित र एक खेलमा हार बेहोर्दै ४ अंकसहित चौथो स्थानमा रहेको छ।
आजको खेलमा जित निकाल्न सके काठमाडौँ दोस्रो स्थानमा उक्लिने अवसरमा हुनेछ। त्यसैले लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम लगाउने र प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्य काठमाडौँको हुनेछ।
दुवै टोलीका लागि महत्वपूर्ण मानिएको यो खेलमा एकातिर लुम्बिनी आफ्नो विजयी लय कायम राख्न चाहन्छ भने अर्कोतिर काठमाडौँ अंक तालिकामा छलाङ मार्ने योजनामा हुनेछ।
साँझको फ्लडलाइटमा कीर्तिपुर मैदानमा हुने यस प्रतिस्पर्धालाई एनपीएलको आजको मुख्य आकर्षणका रूपमा हेरिएको छ।


तपाईको प्रतिक्रिया !