डीभी परेका ७ जना नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ



काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका सातजना नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका छन् ।

भिसा प्रयोजनका लागि १०+२ को नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।



ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



पक्राउ पर्नेमा हाल झापाको दमक बस्ने पाँचथर मितलाजुनका २५ वर्षीय समिर राई, कास्की पोखराका ४० वर्षीय अरुण कार्की, झापा मेचीनगरका ४६ वर्षीय विदुर प्याकुरेल र काठमाडौंको टोखा बस्ने नुवाकोट बेलकोटगढीकी २५ वर्षीया राधिका तामाङ छन् ।

यसैगरी काठमाडौंको बसुन्धारा बस्ने स्याङ्जा चापाकोटकी ३८ वर्षीय सबिता श्रेष्ठ, अछाम मंगलसेनका २७ वर्षीय वीरेन्द्रबहादुर रावल र काठमाडौं कागेश्वरीका २१ वर्षीय सुरजराज खत्री नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न थप दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । झापा बिर्तामोडका वर्ष ४० का दिनेश प्रसाई र दमकका ४८ वर्षीय सूर्यबहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमक र अनारमनीको समन्वयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखित सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज