टेण्डर नपरेपछि दाङबाट रुकुम र डोल्पामा चामल ढुवानी भएन



दाङ । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन। दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो। तर, कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ।

पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए। उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो।



पहाडी जिल्लामा चामल पुर्‍याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ। अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ। टेण्डर नपरेपछि अहिले कार्यालयले आफैंले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल पठाएको छ।



ढुवानी रकम महंगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उनको भनाइ छ। ‘अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन’, सुनारले भने।

चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ। चालममा प्रतिकिलो सात रूपैयाँका दरले छुट दिएको उनले बताए। बास्मती चामलको मूल्य प्रतिकिलो एक सय तीन, जिरा मसिनो प्रतिकिलो ६० र सोना मन्सुलीको मूल्य प्रतिकिलो ४३ पर्छ।

दाङमा धान प्रसस्त फल्छ। सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ। अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ। खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उनको भनाइ छ।

तुलसीपुरमा कम्पनीको गोदममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज