
काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी पाँच करोड भारतीय रुपैयाँ फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– ५ डेरा गरी बस्ने सुर्खेत भेरीगंगा नगरपालिका– ७ काठेघारी घर भएका ४१ वर्षीय रामबहादुर बुढा क्षेत्री रहेका छन् ।
प्रहरीका अनुसार रामबहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्सएप खोली आफू लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनी म्यासेज गरी रकम माग्ने गरेका थिए ।
माग गरेको रकम नदिएमा जे पनि हुन सक्ने भनी धम्क्याउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बुढा क्षेत्रीविरुद्ध अपराधिक लाभ मुद्दाका अनुसन्धान अघि बढाइएको इप्रका कोहलपुरका डिएसपी धर्मराज भण्डारीले बताएका छन् ।
उनले बाँकेका एक पूर्ववडाध्यक्ष तथा एमाले नेतालाई फ्रान्सको ह्वाट्सएप नम्बर प्रयोग धम्काएका थिए ।
पक्राउ परेका रामबहादुर यसअघि पनि विभिन्न आपराधिक मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् ।
माओवादी नेता शक्ति बस्नेतलाई लक्षित गरी गोली प्रहार गरेको घटनामा उनी पाँच वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ ।