वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
चालु वर्षको तुलनामा करिब ३३ करोड रुपैयाँले वृद्धि गरिएको बजेटमा पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र सरसफाइलाई विशेष प्राथमिकता दिइएको छ ।
महानगरको १७ औँ नगरसभामा उपप्रमुख इम्तियाज आलमद्वारा प्रस्तुत बजेटमा ७०.२४ प्रतिशत (२ अर्ब २६ करोड ५० लाख ४९ हजार) चालु खर्चका लागि, २८.६४ प्रतिशत (९२ करोड ३४ लाख) पुँजीगत खर्चका लागि र १.१२ प्रतिशत (३ करोड ६४ लाख) वित्तीय व्यवस्थापनका लागि छुट्याइएको छ ।
मेयर राजेशमान सिंहद्वारा प्रस्तुत ९० बुँदे नीति तथा कार्यक्रममा वीरगन्जको इतिहास र सांस्कृतिक सम्पदालाई जोगाउँदै पर्यटन विकासका महत्त्वाकाङ्क्षी योजनाहरू अघि सारिएका छन् ।
अलौ पर्व सङ्ग्रहालय’ निर्माण गरी १९०४ सालमा भएको ऐतिहासिक अलौ पर्वको स्मृति जोगाउने, ‘रेल्वे म्युजियम’ स्थापना गरेर नेपालकै पहिलो रेल सेवा सुरु भएको इतिहासको संरक्षण, बिपी उद्यान’ निर्माण गरी घण्टाघर क्षेत्रलाई हरियालीयुक्त खुला स्थानमा रूपान्तरण गर्ने जस्ता योजनाहरू सारिएको छ ।
महानगरले स्वास्थ्य सेवा सुधारका लागि थुप्रै योजना ल्याएको छ । बजेटमा महानगर नमुना अस्पताल’ वीरगन्ज–२८ बगहीमा, सहुलियत दरको ल्याब सेवा’ वीरगन्ज–२३ मा, बीपी कोइराला क्यान्सर अस्पताल’ वीरगन्ज–१६ इनर्वामा स्थापना, महानगर फार्मेसी’ सञ्चालन गरेर सहुलियत दरमा औषधि उपलब्ध गराउने भनिएको छ ।
शिक्षामा डिजिटल पहुँच
शिक्षालाई डिजिटल युगमा पुर्याउने योजनासहित महानगरले विविध कार्यक्रम घोषणा गरेको छ । एक विद्यालय, एक स्मार्ट कक्षा’ कार्यक्रम लागू, प्रत्येक सामुदायिक विद्यालयमा एक ल्यापटप र एक प्रिन्टर, ३२ वटै वडामा सामुदायिक पुस्तकालय स्थापना, एसइई तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ ।
स्थानीय भाषा र संस्कृतिको संरक्षणका लागि वीरगन्जमा अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन आयोजना गरिनेछ । यसले वीरगन्जलाई भाषिक र सांस्कृतिक पहिचानमा विश्व स्तरमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
‘वैभव वीरगन्ज’को परिकल्पना
मेयर सिंहले ‘वैभव वीरगन्ज’ निर्माण गर्ने आफ्नो संकल्प दोहोर्याउँदै, आधुनिक पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, सफा र स्मार्ट सहर निर्माण तथा डिजिटल प्रशासनलाई प्राथमिकतामा राखिएको छ ।