वीरगंज, २८ असार । पर्सा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रहरी निरीक्षक लोकराज भट प्रमुख भएपछि ट्राफिक व्यवस्थापन भन्दा अवैध असुलीमा वृद्धि भएको छ। भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारीका चालकहरूलाई ड्राइपोर्ट, परवानीपुर, पावरहाउस र गण्डक ट्राफिक पोष्टका प्रहरीले ‘ओभरलोड’ को नाममा अनधिकृत रकम असुली गर्ने गरेको आरोप लागेका छन्।
‘भारवहन नियम २०७४’ अनुसार क्षमताभन्दा बढी भार बोकेको सवारीलाई जरिवाना गरी सामान झार्नुपर्ने भए पनि ट्राफिक प्रहरीले जरिवाना नगरी घुस लिएर छाड्ने गरेको पाइन्छ। रिक्सा चालकदेखि भारतीय नम्बर प्लेट भएका सवारी चालकसम्मबाट समेत रकम असुली हुने गरेको गुनासो छ।
सूत्रका अनुसार, ट्राफिक प्रमुख भटको निर्देशनमा वरिष्ठ सई गुणनिधि खकुरेलमार्फत ट्राफिक पोष्टहरूमा मासिक दररेट निर्धारण गरी लाखौँ रुपैयाँ असुली गरिन्छ। प्रहरी सरुवा प्रक्रिया समेत घुसमै निर्भर रहेको आरोप छ।
ट्राफिक प्रहरीले मनोमानी जरिवाना, अनावश्यक गाडी रोकिने, र सवारी जाम बढ्ने अवस्था सिर्जना गरेको स्थानीय तथा व्यवसायीहरू बताउँछन्। साथै, ट्राफिक प्रमुख भटमाथि समुदाय आधारित पक्षपात र मासिक अवैध रकम असुली गर्ने गम्भीर आरोप लागेका छन्।
प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी राज कुमार सिलवालसम्म यस विषयको जानकारी पुग्दा समेत अहिलेसम्म कुनै ठोस कदम नचालिएको जनाइएको छ।
स्रोतका अनुसार, जिल्ला ट्राफिक प्रमुखमार्फत उठाइने रकमको हिस्सा प्रदेश ट्राफिक प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राज कुमार सिलवालसम्म पुग्ने गरेको छ। घुसको हिस्सा एसपी सिलवालसम्म पुगेकै कारण उनले कुनै कारबाही नगरी मौन समर्थन गरेको आरोप छ।
नागरिक समाज, व्यवसायी र सवारी चालकहरूले व्यापक भ्रष्टाचारविरुद्ध छानबिन गरी कारबाहीको माग गरेका छन्।