वीरगञ्ज । वीरगञ्जसहित मधेस प्रदेशका विभिन्न जिल्लामा बिहीबार बिहानदेखि चिसो बढेको छ। बारा, पर्सा, रौतहटलगायत जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेपछि जनजीवन प्रभावित बनेको हो।
चिसो हावासँगै परेको हुस्सुका कारण सडकमा दृश्यता कम हुँदा सवारी आवतजावतमा समेत कठिनाइ देखिएको छ। विशेषगरी राजमार्ग तथा सहरी सडक खण्डमा सवारी साधनहरू बत्ती बालेर सावधानीपूर्वक सञ्चालन भइरहेका छन्, जसका कारण बिहानै यात्रा गर्ने सर्वसाधारण र सवारी चालकहरू समस्यामा परेका छन्।
मौसम मापनअनुसार बिहीबार बिहान ९ बजे वीरगञ्जको तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको छ भने सोही समयमा जनकपुरको तापक्रम १५ डिग्री सेल्सियस रहेको छ। अघिल्ला दिनको तुलनामा तापक्रम घटेसँगै चिसोको अनुभूति बढेको स्थानीयले बताएका छन्।
चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। उनीहरूले न्यानो कपडा प्रयोग गर्न, बिहान–साँझ अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र स्वास्थ्यमा समस्या देखिए तत्काल उपचार गराउन आग्रह गरेका छन्।
मौसमविद्हरूका अनुसार आगामी केही दिन मधेस प्रदेशमा चिसो यथावत् रहने सम्भावना रहेको छ।