जगरनाथपुर गाउँपालिकामा २७ प्रजातिका १० हजारभन्दा बढी बिरुवा रोपाइँ, पूर्व मन्त्री रिजालद्वारा उद्घाटन



वीरगंज । जगरनाथपुर गाउँपालिका–२ दशौता टोलस्थित नदीको बगरमा शुक्रबार विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन्।

गाउँपालिकाले यस आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत समृद्धिका लागि वन प्रयोजन योजना अन्तर्गत खाली पर्ती, ऐलानी, र वर्षौदेखि उपयोगविहीन सार्वजनिक जग्गामा वृक्षारोपण अभियानलाई निरन्तरता दिइरहेको छ। यसैक्रममा वडा नं. २ मा करिब १० बिघा बगर जमिनमा अमला, आँप, लिच्ची, कटहर, जामुन, कदम, पीपल, बर, मसला, खयरसहित २७ प्रजातिका १० हजारभन्दा बढी बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य शंकर चौधरी, उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्षहरु नेपाली कुशवाहा, सुभाष यादव, बिहारी महतो नुनिया, कांग्रेस नेता वशीष्ठनारायण कुर्मी, लेखा प्रमुख सन्देश कुशवाहा, छिपहरमाई–३ का वडाध्यक्ष दिपेन्द्र सिंह लगायत स्थानीयवासीको उत्साहजनक सहभागिता थियो।

यसअघि गाउँपालिकाले वडा नं. २ रैनीझैनी मठको १५ बिघा ऐलानी जग्गामा ७ हजारभन्दा बढी विरुवा रोपेको थियो। त्यस्तै वडा नं. ४ सुहपुर सोहरीस्थित खोला किनारको ९ बिघा जमिनमा १० हजारभन्दा बढी बिरुवा रोपेर अहिले घना जंगलसरह विकास भएको अध्यक्ष यादवले बताए।

वन तथा वातावरण संरक्षणमा प्रभावकारी योगदान पुर्‍याएको भन्दै जगरनाथपुर गाउँपालिकाले हालै संघीय सरकारको वन तथा वातावरण मन्त्रालयबाट प्रथम पुरस्कार प्राप्त गरिसकेको छ। गत असार ३० गते काठमाडौंमा आयोजित कार्यक्रममा गाउँपालिकालाई १ लाख २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

अध्यक्ष यादवले बढ्दो जलवायु संकट, सुख्खा र खडेरी समस्याको दीर्घकालीन समाधानका लागि बोटबिरुवा रोपाइँ र संरक्षण अपरिहार्य भएको उल्लेख गर्दै रोपिएका विरुवाको संरक्षण र अनुगमनमा निरन्तर ध्यान दिने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर