पर्सागढी, १० कार्तिक । पर्साको पर्सागढी नगरपालिका–२, मनवा क्षेत्रबाट प्रहरीले करिब ५ लाख रुपैयाँ मूल्य बराबरका ८ वटा राँगा–भैंसी बरामद गरेको छ। आवश्यक कागजातबिना ओसारपसार गरिएको पाइएपछि नियन्त्रणमा लिइएका पशु चौपायालाई प्रहरीले आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो।
ठोरी गाउँपालिका–४, निर्मलबस्तीबाट बाराको जितपुरतर्फ लैजाँदै गरिएका राँगा–भैंसीलाई मनवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ऋषिराज भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा पशु चौपायासम्बन्धी आवश्यक कागजात फेला नपरेको बताइएको छ।
पशु चौपाया बरामद भएको एक दिनपछि निर्मलबस्ती वडा कार्यालयको सिफारिस प्रस्तुत गरिएको भए पनि प्रहरीको प्रारम्भिक छानबिनबाट ती पशु चौपाया अवैध व्यापारिक प्रयोजनका लागि ओसारपसार गरिएको निष्कर्ष निकालिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले आइतबार साँझ करिब ६ बजे आठवटै राँगा–भैंसी बरामद गरी आवश्यक प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो।
२४ घण्टाभित्र लिलामी हुनुपर्नेमा ढिलाइ भएको स्थानीयको गुनासो
नियन्त्रणमा लिइएका पशु चौपाया २४ घण्टाभित्र लिलामी गर्नुपर्नेमा प्रक्रिया ढिलाइ भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। दसैँ बिदापछि सोमबार कार्यालय खुलेलगत्तै लिलामी प्रक्रिया अघि बढ्नुपर्ने भए पनि भन्सार कर्मचारीको ढिलासुस्तीका कारण प्रक्रिया प्रभावित भएको स्थानीय धुरेन्द्र यादवले आरोप लगाएका छन्।
यादवका अनुसार पशु चौपाया नियन्त्रणमा लिइएलगत्तै भन्सार कार्यालयलाई जानकारी गराइएको भए सम्बन्धित कर्मचारी घटनास्थलमै पुग्नुपर्ने थियो। तर, कर्मचारी घटनास्थलमा पुग्न ढिलाइ गर्नुका साथै बरामदीसम्बन्धी आवश्यक कागजात वीरगञ्ज भन्सार कार्यालयमै ल्याउन भनेपछि लिलामी प्रक्रिया २४ घण्टाभन्दा बढी समयसम्म लम्बिएको उनको भनाइ छ।
पशु चौपाया बरामद गरी भन्सार कार्यालयमा बुझाइएको घटनामा लिलामी प्रक्रियामा भएको ढिलाइको वास्तविक कारण र सम्बन्धित निकायको भूमिकाबारे थप स्पष्टता आउन बाँकी छ।


तपाईको प्रतिक्रिया !