बारा। बाराको फेटा गाउँपालिका–३ मा अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम जनता पार्टी (आजपा) मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आजपा मधेश प्रदेश समितिका अध्यक्ष उमेश कुशवाहाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले गोली लागेर घाइते भएका पासवानको तत्काल उच्चस्तरीय उपचारको व्यवस्था गर्न तथा घटनामा घाइते भएका अन्य व्यक्तिको पनि निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन्।
अस्पताल उद्घाटन कार्यक्रममा प्रहरी र स्थानीयबीच झडप हुनु तथा गोली चल्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको कुशवाहाको भनाइ छ। नागरिकमाथि गोली चलाएर घाइते बनाइएको घटनालाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
उनले घाइते पासवानको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
घटनापछि स्थानीय क्षेत्रमा उत्पन्न तनाव थप बढ्न नदिन जनप्रतिनिधिलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै कुशवाहाले प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम गर्न अपिल गरेका छन्। साथै स्थानीय समाजका अग्रज, बुद्धिजीवी, युवा तथा राजनीतिक र सामाजिक क्षेत्रका अगुवालाई आपसी सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्।
शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर फेटा गाउँपालिका–३ मा दुई पक्षबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय आदित्य पासवान घाइते भएका थिए। घटनाका क्रममा तोडफोड तथा मोटरसाइकलमा आगजनीसमेत भएको थियो।
कुशवाहाले पीडितलाई न्याय दिलाउन र घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।


तपाईको प्रतिक्रिया !